
काठमाडौं, २६ माघ- आईसीसी विश्व क्रिकेट लिग 'डिभिजन टू'अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।
नामिबियाको विण्ढोक क्रिकेट मैदानमा टस जितेर ओमानले नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध संघर्षपूर्ण जीत दर्ता गरेको थियो भने ओमान क्यानडासँग पराजित भएको थियो।
ओमान डिभिजन थ्रीबाट बढुवा भएको टोली हो ।
तुलनात्मकरूपमा सहज प्रतिद्वन्द्वी मानिएको ओमानसँग पछिल्लो २ भेटमा भने नेपाल निरास बनेको छ । त्यसअघि नेपाल ओमानसँग अपराजित थियो। सन २०१४ को मेमा २ विकेटले हारेको नेपालले र सन २०१५ को नोभेम्बरमा भएको भेटमा ३ विकेटले नतिजा सुम्पिएको थियो ।
६ टोली सहभागी यस प्रतियोगितामा शीर्ष २ मा पर्न नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ । नेपालले बलिया प्रतिद्वन्द्वी युएई र केन्यासँग खेल्न बाँकी नै छ । कुनैबेला विश्वकपसमेत खेलेको क्यानडाले पनि प्रतियोगितामा रवाफिलो शुरुवात गरिसकेको छ ।