
काठमाडौं, २६ माघ-आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत अहिले नेपाल र ओमान भिडिरहेका छन् ।
नामिबियाको विण्ढोक मैदानमा ओमानले १३९ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ । ११ ओभरको समाप्तिमा ओमानले ३७ रन जोडेर २ विकेट गुमाएको छ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिएका छन् । ११औं ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका सन्दीपले २४ रन जोडेका जतिन्दर सिंहलाई बोल्ड गरे ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा १३८ रन जोड्दा अलआउट भएको थियो ।
नेपालको पारीमा शरद भेसावकरले सर्वाधिक २२ रनको योगदान गरे । यस्तै दीपेन्द्रसिंह ऐरीले २०, दिलिप नाथले १९, सोमपाल कामी र कप्तान पारस खड्काले समान १७ तथा रोहितकुमार पौडेलले १४ रन जोडे ।
अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध संघर्षपूर्ण जीत दर्ता गरेको थियो भने ओमान क्यानडासँग पराजित भएको थियो। ओमान डिभिजन थ्रीबाट बढुवा भएको टोली हो ।