
काठमाडौं, २७ माघ– वाम गठबन्धन दलमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्न नसकेपछि शनिबारका लागि तयारी गरिएको छ । पार्टीको आन्तरिक काममा नेताहरू व्यस्त हुनुभएपछि शुक्रबार बैठक बस्न नसकेको नेताहरूले बताउनुभएको छ । बैठक शनिबार बस्ने सम्भावना रहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ ।
अध्यक्ष ओली शुक्रबार अस्वस्थ हुनुभएपछि बैठक बस्न नसकेको एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले बताउनुभयो तर अध्यक्षका सचिवालयले बिरामीका कारण नभई नेताहरू बाहिर भएकाले बैठक बस्न नसकेको बताएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार पार्टीको आन्तरिक कामले चितवन जानुभयो ।
त्यस्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि पार्टीको कार्यक्रममा भाग लिन कैलालीको टीकापुर पुग्नुभएको थियो । संयोजन समितिको बैठकमा नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियाको गम्भीर कार्यसूचीमा छलफल हुने बताइएको थियो । सबै नेताको सहमति र उपस्थितिमै निर्णय गर्नुपर्ने महìवपूर्ण कार्यसूचीमा बैठक प्रारम्भ हुने भएपछि बैठक शनिबारका लागि सारिएको हुनसक्ने अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।
यसअघि बिहीबार दुई अध्यक्ष ओली र प्रचण्डबीच करिब अढाइ घण्टा वान–टु–वान छलफल भएको थियो । छलफलपछि संयोजन समितिको बैठक शुक्रबार बस्ने र सोबाट केही कार्यसूची पारित गर्ने आन्तरिक सहमति दुवै अध्यक्षबीच भएको थियो तर शुक्रबार बैठक बस्न नसकेपछि एकता प्रक्रिया लम्बिने सङ्केत गरेको छ ।
“शुक्रबार साँझसम्म एकता संयोजन समितिको बैठक बस्छ भन्ने जानकारी थियो, एउटा कारण अध्यक्षको अस्वस्थताले हो, अन्य के–के कारणले बैठक बसेन केही बताइएको छैन,” उपाध्यक्ष गौतमले भन्नुभयो । पार्टी एकतापछि दुई अध्यक्षबीचको व्यवस्थापनका विषयमा कुरा मिल्न नसकेपछि एकता प्रक्रिया लम्बिएको बुझाई बाहिर रहे पनि अध्यक्ष ओली र प्रचण्ड दुवैले सो बुझाइको खण्डन गर्दै आउनुभएको छ ।
आगामी फागुनको दोस्रो सातासम्म नयाँ सरकार गठन हुने भएपछि एकता प्रक्रियालाई सरकार गठनअघि नै ठोस आकार दिनुपर्ने माओवादी नेताहरूको दबाब छ तर एमाले नेताहरूले पार्टी एकता प्रक्रिया अध्यक्ष ओलीकै चाहना र इच्छामा निर्भर रहेकाले दुवै पार्टीलाई सम्मान हुनेगरी एकता प्रक्रिया अघि बढ्नुपर्ने तर्क गर्दै आउनुभएको छ ।
दुई दलले पार्टी एकता गर्ने उद्देश्यसाथ निर्वाचनमा तालमेल गरेको र सोहीअनुरूप जनादेश आएकाले पार्टी एकताको विकल्प नरहेको एमाले वरिष्ठ नेताहरूको भनाइ रहँदै आएको छ ।
एमाले अध्यक्ष ओली अब बन्ने सरकारको प्रधानमन्त्री हुने करिब सुनिश्चित भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी एकतापछिको अध्यक्ष स्वीकारेर भए पनि पार्टी एक गर्नुपर्ने सुझाव एमाले वरिष्ठ नेताहरूको छ, गाेरखापत्रमा खबर छ।