
काठमाडौं, २७ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताएका छन् ।
चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीति संकटबाट देशलाई निकास आफू जस्तोसुकै कदम चाल्नका लागि तयार रहेको बताएका हुन् ।
राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै अध्यक्ष प्रचण्डले देश संकटमा परेको बेला विगतमा र अहिले पनि आफूले सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको बताए ।
‘म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फड्को मार्न सक्छु,’ प्रचण्डले भने, ‘मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो । शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छ ।’
देशमा अल्पसंख्यक, जनजाति, मधेसी, महिला, दलित, भौगौलिकरुपमा उत्पीडित जनता, किसान र मजदूरका पक्षमा लामो लडाई लडेर शान्ति प्रक्रियासम्म आइपुगेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले ‘१२ बुँदे समझदारी र शान्ति सम्झौता नगरेको भए देश कहाँ पुग्थ्यो ?’ भन्दै प्रश्न गरे ।
दोस्रोपटक प्रधानमन्त्री बन्नुपरेको सन्दर्भको चर्चा गर्दै अध्यक्ष प्रचण्डले देशको राष्टियता, एकता र अखण्डता तथा सबै समूहबीचको सदभावका लागि आफूले खेलेको भूमिकाको जनताले उचित मूल्यांकन गरेको बताए ।
‘मेरो भूमिका सधैं सबैलाई मिलाउने, अप्ठ्यारो परेको बेला गाँठो फुकाउने र जनतालाई अधिकार सम्पन्न बनाउने रहँदै आयो,’ प्रचण्डले भने, ‘अहिले पनि यही भूमिकामा छु । भोलीका दिनमा समृद्ध नेपालका लागि जस्तोसुकै भूमिका खेल्न पनि म तयार छु ।’
आफूले धार्मिक कार्यक्रममा सहभागी हुने कुरालाई गलत रुपमा चित्रण गरिएकोमा आपत्ती जनाउँदै प्रचण्डले भने, ‘राज्यले धार्मिक आस्थाका आधारमा विभेद गर्दै आएकोले धर्म निरपेक्षताको लडाइ हामीहरुले लडेका हौं ।’