०२ असार २०८३, मंगलबार

प्रमुख समाचार : दुई प्रदेशले पाए नयाँ सभामुख, आगोले लियो तीन बालिकाको ज्यान

प्रमुख समाचार : दुई प्रदेशले पाए नयाँ सभामुख, आगोले लियो तीन बालिकाको ज्यान

काठमाडौं, २८ माघ– नयाँ संघीय संरचनाअनुसार मुलुकका सात प्रदेशसभामा नयाँ सभामुख छनोट गर्ने क्रम अहिले चलिरेहको छ । शनिबारसम्म प्रदेश नम्बर तीन र ७ ले नयाँ सभामुख पाएका छन् । प्रदेश नम्बर तीनको सभामुखमा निर्विरोध निर्वाचित भएका सानुकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालासँग प्रमुखको कार्यालयमा उनले शपथ लिएका हुन् । शपथ ग्रहण लगत्तै श्रेष्ठले प्रदेशसभाको सचिवालय पुगेर पदबहाली पनि गरे । 
यसैगरी, प्रदेश ७ को सभामुखमा नेकपा एमालेका अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । सभामुखका लागि वाम गठबन्धनका थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

दलहरु आन्तरिक छलफलमा-निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक तर्फको नाम सिफारिस गर्न आग्रह गरेपछि राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । आयोगले दलहरुले प्राप्त गरेको सिट संख्या सार्वजानिक गर्दै नाम सिफारिस गर्न भनेपछि उनीहरु छलफलमा जुटेका हुन् । 
यसका लागि नेकपा एमालेको स्थायी कमिटिको बैठक आइतबार बिहान साढे ११ बजे पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा बस्ने भएको छ । यसैगरी समानुपातिकतर्फ सिट पाएका अन्य दलहरु पनि नाम सिफारिस गर्न आन्तरिक गृहकार्यमा व्यस्त छन् । 


नाम सिफारिस– सरकारले राष्ट्रियसभा सदस्यका लागि तीन जनाको नाम शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । कानुन मन्त्री यज्ञबहादुर थापाका अनुसार सरकारले सिफारिस गरेका नाममा गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको रहेका छन् । 
यता, सिफारिसप्रति कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ । पार्टीभित्र छलफल नै नगरी पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना निकटका व्यक्तिलाई मात्र राष्ट्रिय सभामा सिफारिस गरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको हो ।

विकासको ढोका खुल्योः प्रधानमन्त्री– दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण भएको ३० मेगावाट चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । आयोजना एघार वर्षभन्दा बढी समय लगाएर निर्माण भएको हो । 
आयोजनाको उद्घाटनमा प्रधानमन्त्री देउवाले आयोजनाले सात नम्बर प्रदेशमा विद्युत विकासको ढोका खोलेको बताए । ७ नं. प्रदेशमा मात्रै २० हजार मेगावाट विद्युत् उत्पादन हुने विभिन्न अध्ययनले देखाएको उनले बताए । जग्गा खरिद, सिभिल निर्माण र इलेक्टिकल मेकानिकल तथा हाइड्रो मेकानिकल कार्यका लागि करिब ७ अर्ब ८४ करोड एवं परामर्श सेवातर्फ करिब ६० करोड गरी जम्मा ८ अर्ब ४४ करोड खर्च भएको आयोजनाले जनाएको छ । 
आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण गरिसकेपछि ३० मेगावाट विद्युत्को उत्पादन हुन थालेको हो । 


बूढीगण्डकीलाई अनुदान– राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत्लाई लगानीयोग्य बनाउन सरकारले अनुदान दिने भएको छ । स्वदेशी लगानीमा नै आयोजना निर्माण गर्ने लक्ष्यका साथ सरकारले परियोजनालाई करिब ९४ अर्ब रुपैयाँ अनुदान दिन लागेको हो । प्राधिकरणले अब चिलिमे तथा माथिल्लो तामाकोशीको ढाँचामा बुढीगण्डकी आयोजना अगाडि बढाउनेछ । 


तीन बालिकाको मृत्यु– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–५ मा एक घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ । धनबहादुर मोक्तानको घरमा शनिबार दिउँसो आगलागी हुँदा उनकी छ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया मंगली मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । घरमा ती बालिका मात्र भएका बेला आगलागी भएको र उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । 


विदेशका खबर– उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनलाई भ्रमणका लागि निम्तो गरेका छन् । उत्तर कोरियाका नेता किम कि बहिनी किम यो जोङले दक्षिण कोरियाका राष्ट्रपति मुनसँगको भेटमा भ्रमणको निम्तो दिएकी हुन् । दुई राष्ट्रका नेताबीचको यो भेट करिब एक दशक यताकै पहिलो हो । भेटपछि दक्षिण कोरियाका राष्ट्रपति मुनले दुई कोरियाबीच उत्तर कोरियालाई अमेरिकासँग समझदारीमा आाउने बनाउनुपर्नेमा जोड दिए । 


खेल खबर– धरानमा सम्पन्न बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ । धरान रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टारले नेपाल प्रहरीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । थ्रीस्टारका लागि पहिलो हाफको अन्तिम इन्जुरी समयमा अजयी मार्टिनले गरेको गोल नै निर्णायक बन्यो । 
यस्तै– मोरङ फुटबल क्लब बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक नवजनजागृति युवा क्लबलाई पेनाल्टीमा ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्