२५ असार २०८३, बिहीबार

प्रदेश सरकारको चुनौती–तीनवटा मन्त्रालयको काम एउटै कोठामा, इन्टरनेट पनि मोबाइलबाटै

माघ २८, २०७४
प्रदेश सरकारको चुनौती–तीनवटा मन्त्रालयको काम एउटै कोठामा, इन्टरनेट पनि मोबाइलबाटै

धनगढी, २८ माघ– प्रदेश नंं. ७ मा स्थापना हुने ७ मन्त्रालय मध्ये ३ वटा मन्त्रालय मात्रै सञ्चालनमा आएका छन् । बाँकी ४ वटा सञ्चालनको अझै ठेगान छैन ।

सञ्चालनमा आएका मन्त्रालयहरु पनि सकसपूर्ण ढंगले अगाडि बढिरहेका छन् । समयमा भौतिक पूर्वाधारको टुंगो नलाग्नु, अधिकांश संरचना निर्माधिन हुनु, पुराना संरचनाको मर्मत सम्भार जारी रहनु, कर्मचारी खटनपटनमा जटिलता देखिनुले पनि गति लिन नसकेको हो ।

गत बिहीबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको कार्यालयहरु सञ्चालनमा आएका हुन् । ती मन्त्रालयहरुको काम एउटा कोठाबाटै सञ्चालनमा आएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कणेलले भने–‘हामी बिल्कुलै जिरो स्टेजबाट काम थालेका छौं । सुरुवातमा केहि चुनौती आवश्य हुन्छन्, तर यो क्रमिक रुपमा सुधार हुँदै जाने, विकास हुँदै जाने प्रक्रिया हो ।’

सचिव कणेलले हाल मन्त्रालय स्थापना भएसंगै मन्त्रालयहरु आफ्नो आन्तरिक खटनपटनदेखि व्यवस्थापकीय कार्यमा जुटेको बताए । यो संगै विभिन्न नियमावली बनाउने, प्रदेश सरकारको कार्य सम्पादन, सार्वजनिक लेखा प्रणाली, नियमावली निर्माणमा व्यस्त रहेको बताउँदै उनले कर्मचारी व्यवस्थापन, सवारी साधनहरुको जोहो गर्ने काम भैरहेको जनाए ।

‘हाजिरी रजिष्टरदेखि आवश्यक सम्पूर्ण पूर्बाधार निर्माणमा जुटेका छौँ’, सचिव कणेलले आफुले चलाउँदै आएको स्मार्ट फोन देखाउँदै भने–‘उपलब्ध साधन स्रोतलाई सदुपयोग गर्दै काम गरिरहेका छौँ, हेर्नुस् भर्खरै फोनबाटै मेल पठाए ।’

उनको अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मोबाइलबाट नै इन्टरनेटबाट हुने काम सञ्चालन गर्दै आएको छ ।

इन्टरनेटका लागि आवश्यक पर्ने कम्प्युटर नभएपछि विभिन्न चिठ्ठीहरु मोबाइलबाट नै पठाउने र डाउनलोड गर्ने काम गर्ने भैरहेको जनाइएको छ । 

आवश्यक पर्ने कर्मचारी अझै पुगिनसकेकोले पनि यहाँका मन्त्रालय सञ्चालनमा ढिलाई भएको हो । प्रदेश ७ का मन्त्रालयहरुका लागि सामान्य प्रशासन मन्त्रालयले  मुख्य सचिवदेखि मार्यादापालकसम्म २८७ जना कर्मचारी खटाएको छ । जसमध्ये हालसम्म ३२ जना मात्रै धनगढी आइपुगेको जनाइएको छ ।

मुख्यमन्त्रीको कार्यालयमा मुख्य सचिव, २ जना सचिव, १÷१ जना उप–सचिव, नासु, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी गरी ८ जना कर्मचारी आइपुगेका छन । यस्तै प्रदेश प्रमुखको कार्यालमा सचिव, उपसचिव र शाखा अधिकृत गरी ३ जना आइपुगेका छन् ।

यस्तै प्रदेश सभाको कार्यालयका लागि ४ जना कर्मचारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था तथा कृषि सहकारी कार्यालयमा सचिव आइपुगेका छन । भने, भूमि मन्त्रालयमा एक जना उप–सचिव पनि आइपुगेको सचिव कणेलले जानकारी दिए ।

यहाँ स्थापना हुने आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सञ्चालनमा अझै बाँकी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्