२५ जेठ २०८३, सोमबार

प्रदेश नम्बर पाँच–सभामुखको निर्वाचन अघि नै मन्त्रिपरिषद् गठन गर्ने तयारी

माघ २८, २०७४
प्रदेश नम्बर पाँच–सभामुखको निर्वाचन अघि नै मन्त्रिपरिषद् गठन गर्ने तयारी

बुटवल, २८ माघ– प्रदेश नम्बर ५ मा एमाले माओवादी गठबन्धनले सरकार गठनको प्रक्रिया शुरू गरेका छन् । एमाले माओवादी गठबन्धनका नेताहरूले आइतबार प्रदेश प्रमुख उमाकान्त झालाई सरकार नेतृत्वको दावी गर्दै पत्र बुझाएका छन् । 

एमाले प्रदेश नम्बर पाँचका संसदीय दलका नेता शंकर पोखरेल र माओवादी संसदीय दलका नेता कूलप्रसाद केसीसहित एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका नेता वर्षमान पुन लगायतका नेताहरू आइतबार दिउँसो प्रदेश प्रमुखको कार्यकक्ष रुपन्देही व्यापार संघको भवनमा पुगेर पत्र बुझाएका हुन् ।

पत्र बुझेपछि प्रदेश प्रमुख उमाकान्त झाले संवैधानिक प्रक्रिया अनुसार आफू अगाडि बढने बताए । उनले भने, ‘दुई दलले दाबी प्रस्तुत गर्दै पत्र बुझाउनु भएको छ । संविधानले व्यवस्था अनुसार अगाडि बढछु ।’ संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया छ । 

पत्र बुझाएपछि प्रक्रिया दिँदै एमाले नेता एवं मुख्यमन्त्रीका दाबेदार नेता पोखरेलले सभामुखको निर्वाचन अगाडि नैं मुख्यमन्त्रीको शपथ ग्रहण गरी सानो मन्त्रिमण्डल पनि गठन हुने बताए ।  

सभामुखको निर्वाचन अगाडि नैं ३ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने वाम गठबन्धनले तयारी गरेका छन् । जसमा मुख्यमन्त्री शंकर पोखरेल र एक÷एक जना एमाले र माओवादीका मन्त्री बन्ने माओवादी प्रदेश नम्बर ५ का संसदीय दलका नेता कूलप्रसाद केसीले जानकारी दिए । 

माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रदेश नम्बर २ बाहेक सबै प्रदेशमा एमाले माओवादी मिलेर सरकार गठन गर्ने बताए । फरक प्रसंगमा छिट्टै दुई पार्टी एकता हुने बताए । 

सोमबार प्रदेश प्रमुखलाई शपथ ग्रहण गराउने तयारीमा प्रदेश प्रमुख रहेको बताइएको छ । त्यस्तै फागुन २ गते सभामुखको निर्वाचन हुँदैछ । प्रदेश नम्बर ५ मा ८७ सांसद छन् । जसमध्ये एमालेका ४१ र माओवादी केन्द्रका २० जना रहेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्