
काठमाडौं, २८ माघ — आईसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन टूअन्तर्गतको नवौं खेलमा नेपालले युएईविरुद्ध प्रभावशाली प्रदर्शन गरेको छ ।
विन्डहोएकमा आइतवार भइरहेको वर्षाले प्रभावित खेलमा नेपालले टस जितेर फील्डिङ रोजेको थियो । निर्धारित ५० ओभरको साटो ३४ ओभरमा घटाइएको खेलमा युएईले ५४ रन बनाउँदा पाँच विकेट गुमाइसकेको छ ।
नेपालका लागि स्पिनर सन्दीप लामिछाने पुनः उत्कृष्ट प्रदर्शन गर्दै दुई ओभरमा दुई विकेट लिए । उनले रमीज शहजाद र मुहम्मद उस्मानको विकेट लिए र उस्मानलाई त उनले डकआउट गराए ।
उनले दुई ओभरमा एक मेडन राख्दै ६ रन दिएर दुई विकेट लिए ।
त्यस्तै सोमपाल कामीले पनि दुई विकेट हात पारे । उनले अश्फाक अहमदलाई शून्यमै आउट गरे अनि गुलाम शब्बरलाई १६ मा आउट गराए ।
करण केसीले एक विकेट लिए । उनले ओपनर रोहन मुस्तफालाई सात रनमा आउट गरे ।
एक रनमा पहिलो विकेट गुमाएको युएईले २५ रनमा लगातार दुई विकेट गुमायो भने ५४ रन बनाउँदा अर्को दुई विकेट गुमायो ।
पारस खड्काले पनि उत्कृष्ट बलिङ गर्दै चार ओभरमा दुई मेडन राख्दै जम्मा सात रन दिए ।
समाचार तयार पार्दासम्म युएईले पाँच विकेटको क्षतिमा ७१ रनमा बनाएको छ । अदनान मुफ्ती र शाइनन अनवर क्रीजमा छन् ।