०८ असार २०८३, सोमबार

बबरमहलमा १७ तले सरकारी भवन बन्ने

माघ २९, २०७४
बबरमहलमा १७ तले सरकारी भवन बन्ने

काठमाडौं, २९ माघ -सरकारले केन्द्रीयस्तरका विभागीय कार्यालयहरूलाई एकैठाउँबाट सेवा दिने गरी प्रशासनिक केन्द्रको भवन निर्माण गर्ने भएको छ। 

सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी र छिटो छरितो बनाउन एकीकृतरूपमा एउटै प्रशासनिक भवन निर्माण गर्न लागेको हो। शहरी विकास तथा भवन निर्माण विभागले एकीकृत भवन निर्माणका लागि स्थान छनोट र भवनको डिजाइनको काम अन्तिम चरणमा पुर्याएको छ। बबरमहलस्थित वन विभाग परिसरभित्रको ८५ रोपनी जग्गामा १७ तलाको आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको हो।

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार परिसरभित्रबाटै सञ्चालन हुँदै आएको छ। सिंहदरबारभित्र नै सबै मन्त्रालय रहेका छन्। जसको कारण नागरिकले एउटै परिसरभित्र सबै मन्त्रालयस्तरका सेवा सुविधा लिने गरेका छन्। मन्त्रालय मातहत रहेका विभागहरू भने छरिएर रहेका छन्। जसका कारण सेवाग्राहीले सेवा लिनका लागि विभिन्न स्थानमा धाउनुपर्ने बाध्यता रहेको छ।

एउटै भवनमा सबै विभागलाई समावेश हुने गरी प्रशासनिक केन्द्र निर्माण गर्न लागेको शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मनिराम गेलालले बताए। उनले भने, ‘भवनको निर्माण कार्य अगाडि बढाउन यसै वर्ष खरिदको प्रक्रिया अगाडि बढाउँछौं।’ उनका अनुसार विभागका कार्यालयहरू सबै अटाउने गरी भवन निर्माण हुनेछ।

केन्द्रीयस्तरका विभागीय कार्यालयहरूलाई एउटै कार्यालयबाट सेवा प्रदान गर्ने उद्देश्यको साथ सरकारले प्रशासनिक केन्द्रको अवधारणा अगाडि सारेको हो।  आजको नेपाल समाचार पत्रमा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्