काठमाडौं, २९ माघ — टेम्स नदीनजिक दोस्रो विश्वयुद्धको समयको बम फेला परेपछि लन्डन सिटी एयरपोर्ट बन्द गरिएको छ ।
विमानस्थलले जारी गरेको बयानमा भनिएको छ, ‘किङ जर्ज वी डकमा निर्माण कार्य चलिरहँदा दोस्रो विश्वयुद्धको समयको बम फेला परेपछि नजिकैका इलाकालाई खाली गराइएको छ । लन्डन सिटी एयरपोर्ट पनि हालका लागि बन्द गरिएको छ ।’
बम फेला परेको सूचना पाएपछि घटनास्थलमा मेट्रोपोलिटन प्रहरीलाई बोलाइएको छ । त्यसबाहेक रोयल नेभीलाई पनि त्यहाँ तैनाथ गरिएको छ । दुवैले मिलेर बमलाई त्यहाँबाट हटाउँदैछन् ।
लन्डन सिटी एयरपोर्टले वेबसाइटमा जारी गरेको बयानमा अर्को जानकारी नआउन्जेल एयरपोर्ट नआउनू भनी यात्रीहरूलाई सल्लाह दिइएको छ । एयरपोर्टवरपरको बाटो पनि बन्द गरिएको छ ।
लन्डन सिटी एयरपोर्ट पूर्वी लन्डनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल हो । दोस्रो विश्वयुद्धताका यो औद्योगिक तथा घना बस्ती भएको क्षेत्र थियो ।
एजेन्सी