
काठमाडौं, २९ माघ- सन्दीप लामिछानेले दमदार बलिङ प्रदर्शन गरे पनि नेपालले केन्याविरुद्ध जितका लागि हालसम्मकै ठूलो लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङो निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन जोडेपछि नेपालले १७८ रनको विजयी लक्ष्य पायो ।
नेपालले यसअघिका जितमा पछ्याएका दुवै लक्ष्य १५० भन्दा कम रनका थिए ।
केन्यालाई मध्यम स्कोरमा रोक्ने क्रममा सन्दीपले २० रन खर्चिएर ५ विकेट लिए । यसक्रममा उनले ५ ओभरमा कुनै पनि रन दिएनन् ।
सन्दीप ४ खेलबाट कुल १४ विकेट लिँदै सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा अग्रस्थानमा छन् ।
सन्दीपका अलावा सोमपाल कामी, शरद भेसवाकर र वसन्त रेग्मीले १-१ विकेट लिए ।
केन्याका लागि विकेटकिपर ब्याट्सम्यान इरफान करिमले सर्वाधिक ४२ र एलेक्स ओबान्डाले ४१ रनको योगदान गरे ।
नेपाल र केन्या दुवै आईसीसी लिग च्याम्पियन्सिपबाट घटुवामा परेका टोली हुन् । सो प्रतियोगितामा नेपालले केन्यासँग घरेलु मैदानमा खेलेको १ खेल जितेको थियो भने अर्को १ नतिजा सुम्पिएको थियो।
प्रतियोगिताको शीर्ष २ मा पर्दै विश्वकप छनोट खेल्न दुवै टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ ।
३ खेलबाट ४ अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । २ खेलबाट अंकविहीन केन्या भने पुछारमा छ ।
यसअघिका दुवै खेल हारे पनि केन्या बलियो प्रतिद्वन्द्वी हो ।