
काठमाडौँ, २९ माघ – नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आज भएको खेलमा नेपालले केन्याविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकालेको छ ।
केन्याले दिएको १७८ रनको चुनौती नेपालले ४९.५ ओभरमा ७ विकेट खर्चेर पुरा गर्यो । निकै रोमाञ्चक बनेको खेलमा नेपालले १ बल बाँकी हुँदा लक्ष्य भेट्टाएको हो ।
नेपालको जीतका लागि रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारी रह्यो ।
रोहितले ४७ रन बनाए भने आरिफले ४२ रनको योगदान दिए ।
यस्तै कप्तान पारस खड्काले ४२ रनको योगदान दिँदा शरद भेषवाकरले १९ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुनन सकेनन् ।
केन्याविरुद्धको जीतसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको थियो ।
केन्याका लागि सुरुवाती व्याट्सम्यान इरफान करिमले सर्वाधिक ४२ रन तथा अर्का सुरुवाती व्याट्सम्यान एलेक्स ओबान्डाले ४१ रन जोडे । त्यसैगरी कोलेन्स ओबुयाले २७, नेल्सन ओधिम्बोले २४ रन तथा सेम नोगोचेले अविजित २३ रन जोडे ।
केन्यालाई १७७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले १० ओभर बलिङमा ५ मेडन राख्दै ५ विकेट लिएर २० रन मात्र दिए ।
त्यसैगरी, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषवाकरले समान एक–एक विकेट लिए