
काठमाडौं, १ फागुन– तत्कालीन माओवादी जनयुद्ध लडेका विभिन्न पार्टीमा विभाजित माओवादीहरुले आज विभिन्न कार्यक्रम गरी देशैभर जनयुद्ध दिवस मनाउँदैछन् । २२ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो ।
दिवसका अवसरमा नेकपा माओवादी केन्द्रले आज कार्यक्रम गर्दै छ । केन्द्रीय कार्यलय कोटेश्वर पेरिसडाँडामा हुने कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवोधन गर्दैछन् । कार्यक्रम बिहान ११ बजे शुरु हुनेछ ।
नेकपा (क्रान्तिकारी माओवादी)ले अन्तक्र्रिया, कोणसभा, टोलसभा गरेर जनताको बीचमा जारी तीन महिने संगठन विस्तार अभियानको क्रममा जनयुद्ध दिवस मनाउँदै छ । पार्टीको नेवा राज्यले ललितपुरको कुपण्डोलमा दिउसो एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ । २०५२ साल फागुन १ गते आजकै दिन माओवादीले हतियार उठाएर जनताको मुक्तिका लागि भन्दै सशस्त्र युद्ध शुरु गरेको थियो । जनयुद्धका क्रममा करिब १६ हजार नेपालीको ज्यान गएको थियो ।