
काठमाडौं, १ फागुन — दक्षिण अफ्रिकाको क्रूजर नेसनल पार्कमा एक शंकास्पद शिकारीलाई सिंहहरूले मिलेर खाइदिएका छन् । प्रहरीले यो घटनाको जानकारी दियो ।
हहरूले शिकारीको शरीरको अधिकांश भाग खाइदिए । बाँकी रहेका टुक्राटाक्री एउटा पार्कमा फेला परे ।
लिम्पोपो प्रान्तका प्रहरी प्रवक्ता मोत्शे एनगोएपेले समाचार संस्था एएफपीलाई बताए, ‘शिकारीले गेम पार्कमा शिकार गरिरहेको बेलामा सिंहहरूले उसमाथि आक्रमण गरेर उसलाई मारिदिए । उनीहरूले उसको शरीर लगभग पूरै खाए अनि टाउको र केही टुक्रा मात्र छोडिदिए ।’
दक्षिण अफ्रिकी वेबसाइट आईविट्नेस न्युजका अनुसार, मृतकको शरीरका टुक्रासँगै गोली भरिएको राइफल फेला परेको छ ।
लिम्पोपो प्रान्तमा आजकल सिंहको शिकार गर्ने घटना बढ्दै गएको छ ।
अफ्रिका र बाहिर पनि सिंहको शरीरका केही भाग पारम्परिक औषधि बनाउनका लागि प्रयोग हुने गरेको छ ।
वन्यजन्तुको हित गर्ने बोर्न फ्री फाउन्डेसनले सिंहका हाड र शरीरका अन्य भागको माग दक्षिण एसियामा खुबै भएको बताएको छ । बाघको हाडको विकल्पका रूपमा सिंहको हाड प्रयोग गरिने गरेको छ ।
सन् २०१७ को जनवरीमा लिम्पोपोमा नै तीनवटा सिंह मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई विष खुवाएर मारिएपछि पञ्जा र टाउको काटिएको थियो ।
बीबीसीबाट