बुटवल, २ फागुन- प्रदेश नम्बर ५ को सभामुखमा माओवादी केन्द्रका सांसद पूर्वबहादुर घर्ती निर्वाचित भएका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले घर्तीलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए ।
प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेका थिए । सभामुखका लागि घर्तीको मात्र उम्मेदवारी परेको थियो । निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै घर्तीले जनताप्रति उत्तरदायी भएर आफू अगाडि बढने बताए । ‘जनताका चाहाना र आकाक्षालाई संवोधन गर्ने मेरो प्राथमिकता हुनेछ’ उनले भने ।
बुधवार साँझ प्रदेश प्रमुख उमाकान्त झाले घर्तीलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ । एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका घर्तीका विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचनको मिति तोकेको छ । उपसभामुखका लागि एमालेले कृष्णा चौधरीलाई उम्मेदवार बनाउने चर्चा छ । अर्को संसद् बैठक फागुन ६ गते १ बजे बस्ने भएको छ ।