
काठमाडौं, ६ फागुन– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतामा सहमति नबन्दा मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाइ हुने भएको छ । दुई पार्टीबीच शक्ति बाँडफाँट र सत्ता समिकरणमा अझै सहमति बन्न सकेको छैन ।
जसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार विस्तारमा पनि सकस देखिएको छ । ओलीले आफूले शपथ लिएकै दिन माओवादीलाई पनि समेटेर सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका थिए । माओवादीसँग कुरा नमिलेपछि त्यो रोकिएको छ । तर शनिबार आफूलाई बधाई दिन आयोजित कार्यक्रममा पत्रकारसँग ओलीले माओवादीसँग धेरै कुरा मिलीसकेको र चाँडै नै एकता र सरकार विस्तार हुने दावी गरे ।
एमालेभित्र मन्त्री पदका आकांक्षी धेरै हुनु र माओवादीसँग भागवण्डा नमिल्दा ओलीले आफूले सोचे अनुसार मन्त्रिपरिषद् गठन गर्न नसकेका हुन् । तरयता, शनिबार पनि ओलीसँग वान टू वान वार्ता गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीमा पदीय व्यवस्थापन र सरकार समीकरणको विषयलाई एक–दुई दिनभित्रमा टुङ्ग्याउने गरी सहमति भएको कुरा दोहोर्याए ।
ओलीसँगको छलफलपछि महोत्तरी पुगेका प्रचण्डले प्रलोभन र धम्की दिएर प्रतिक्रियावादीले वाम गठबन्धन फुटाउने प्रयास गरिरहेको बताए । उनले एकतामा कसले अवरोध गरेको हो भन्ने बारे केही बताएनन् ।
आर्थिक समृद्धिको कार्ययोजना– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले सरकारको आर्थिक समृद्धिको कार्ययोजनालाई अन्तिम रुप दिएको छ । एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आर्थिक समृद्धिको कार्ययोजना बनाएको हो ।
गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई दलले सार्वजनिक गरेको संयुक्त घोषणापत्रलाई नै आधार बनाएर कार्ययोजना तयार पारिएको हो । कार्यदलमा संलग्न सदस्यहरुका अनुसार संविधानप्रदत्त समाजवादको आधार तयार पार्ने विषयलाई नै कार्ययोजना विशेष जोड दिइएको छ ।
कार्ययोजनामा ऊर्जा, पर्यटन, जडीबुटी, कृषि क्षेत्रको आधुनिकीकरण गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । राष्ट्रिय उत्पादनशील पुँजी, श्रम र रोजगारी केन्द्रित औद्योगिकीकरण एवं विकास नीति अवलम्बन गर्दै तीव्र आर्थिक वृद्धि र सामाजिक न्यायसहितको समावेशी र दिगो विकास, वातावरण संरक्षण र श्रमिकको हितलाई हाम्रो विकास नीतिले उच्च प्राथमिकतामा राख्ने विषय कार्ययोजनामा समेटिएको छ ।
कार्यदलले केही दिनमै उक्त कार्ययोजना प्रधानमन्त्री केपी ओलीलाई बुझाउने तयारी गरेको छ ।
मर्यादित न्यायपालिकाको अपेक्षा– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन् । एमालेको कानुन विभागले गरेको कार्यक्रममा उनले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताए ।
“न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखामा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो”, प्रधानमन्त्री ओलीले भने, “तर आँखामा पट्टी हैन पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ ।”
मुख्यमन्त्रीमा भट्ट नियुक्त– प्रदेश नम्बर ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको शपथसँगै सात सदस्यीय सरकार गठन भएको छ । माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा गोपनियताको शपथ लिएका हुन् । त्यसलगत्तै ६ मन्त्रीले पनि शपथ लिएका छन् । एमालेबाट चार र माओवादीबाट दुई मन्त्री बनेका हुन् ।
-नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ६ मा नरेश भण्डारी र विमला केसीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।
-प्रदेश नम्बर ६ को उपसभामुखमा पुष्पा घर्ती विष्ट निर्विरोध निर्वाचित भएकी छिन् ।
-प्रदेश नम्बर पाँचको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । संसद सचिवालयका अनुसार उपसभामुख पदमा एमालेकी कृष्णी थारु र नेपाली कांग्रेसकी रिना बिकको उम्मेदवारी परेका हो ।
प्रदेश सरकारको कर– प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरन्जन, विज्ञापन र कृषि आयमा कर लगाउन सक्ने अधिकार पाएको छ । संविधानको धारा १९७ अनुसार प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको नमुना विद्येयकमा प्रदेश कर कार्यालयले कर तिर्नुपर्ने व्यक्ति वा करदाताको पहिचान गरी कर दायित्व विवरण खुलाएर कर लिनसक्ने व्यवस्था गरेको छ ।
संविधानअनुसार सातओटै प्रदेशमा प्रदेश सरकार गठन भइसकेको अवस्थामा अर्थ मन्त्रालयले करसम्बन्धी नमुना कानुन प्रदेशमा पठाएको हो ।
५ सय २० महिला बलात्कृत– चालु आर्थिक वर्षको पहिलो सात महिनामा ५ सय २० महिला बलात्कृत भएका छन् । नेपालमा वर्षेनी एक हजार भन्दा बढी बलात्कारको शिकार हुने तथ्याङ्क प्रहरीसँग छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत वर्ष १ हजार १ सय ३१ जना बलात्कारको शिकार भएका थिए ।
चालु वर्षको साउनमा १ सय ३१, भदौमा ९७, असोजमा ९३, कात्र्तिकमा ७६, मंसिरमा ६२ र पुस महिनामा ७० वटा बलात्कारको घटनाबारे उजुरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
व्यापार घाटा– चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३÷७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ८७ करोड रहेको थियो ।
गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु ७१ अर्ब ४० करोडले बढेको छ । आव २०७२÷७३ मा त्यस्तो व्यापार घाटा रु दुई खर्ब ५० अर्ब ८५ करोडको थियो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार मुलुकबाट निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको हो ।
खुशी लिएर फर्कियो क्रिकेट टिम– आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ स्वदेश फर्किएको छ । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आगामी दिनका खेलहरु नेपालका लागि झनै चुनौती बन्दै गएको बताए । उनले नेपाली क्रिकेटको विवाद समाधान गरी आगामी दिनमा आइपर्ने चुनौतीको सामना गर्न नेपाल तयार रहनुपर्ने बताए ।
आगामी फागुन २० गतेदेखि जिम्बाब्वेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा यो प्रतियोगिताभन्दा झनै सुधारिएको प्रदर्शन गर्ने उनको भनाइ छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे ।
आइसिसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बाब्वेसँग मार्च ४ मा स्कटल्याण्डसँग मार्च ८ मा, अफगानिस्तानसँग मार्च १० र हङ्कङसँग मार्च १२ मा खेल्नेछ ।