
काठमाडौं, ६ फागुन- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणको प्रक्रियामा दोस्रो तहका नेताले पार्टीभित्र आफ्नो हैसियत कस्तो हुने भन्ने विषयलाई प्राथमिकतामा राखेका कारण टुंगोमा पुग्न सकेको छैन ।
दोस्रो तहका नेताले पार्टी एकता सफल पार्नुभन्दा पनि पार्टी एकतापछि आफ्नो ‘पोजिसन’ के रहने भन्नेबारे टुंग्याउनुपर्ने भन्दै सैद्धान्तिक तथा वैचारिक विषय अघि सारेर एकतामा अड्को थापेका हुन् ।
दुई पार्टीबीच एकताका लागि आधारभूत विषय टुंगो लाग्न नसक्दा माओवादीले सरकारमा मन्त्रीहरू पठाउन रोकेर राखेको छ । गत बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीको समर्थनमा प्रधानमन्त्री हुँदै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरे पनि एकताको विषय नटुंगिएको भन्दै माओवादी केन्द्र सहभागी भएन ।
एकताको विषय टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने माओवादीले अडान राखेपछि दुई अध्यक्षबीच शनिबार पुनः गोप्य छलफल भएको छ । दुई अध्यक्षले आज (आइतबार) एकता संयोजन समितिको बैठकबाट सहमति खोज्ने प्रयास गरेका छन् ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गत सोमबार र मंगलबार भएको समझदारी बुधबार बसेको पार्टी संयोजन समितिको बैठकमा भने दोस्रो तहका नेताकै कारण टुंगोमा पुग्न सकेन ।
दुई अध्यक्षबीच दुवै जना पार्टीको हिस्सा बराबर रहने गरी संयन्त्र बनाउने र एकले सरकारको नेतृत्व गर्दा अर्को स्वतः पार्टीको कार्यकारी अध्यक्ष रहने, त्यसमा आलोपालो सरकारको नेतृत्व गर्ने, जनताको बहुदलीय जनवाद (जबज) र माओवाद दुवैलाई सम्मान गर्दै मिलेका विषय अहिले टुंग्याउने र बाँकी विषय महाधिवेशनमा संश्लेषण गरेर जाने समझदारी भएको थियो ।
पार्टी संयोजन समितिको गत बुधबार बसेको बैठकमा भने एमाले दोस्रो तहका नेताले जबजलाई छाड्न नसकिने भन्दै मार्ग निर्देशक सिद्धान्तका रूपमा उल्लेख गर्नुपर्ने अडान राखेका थिए ।
एमाले नेताले जबजलाई मार्ग निर्देशक राख्नुपर्ने मागमा माओवादीले अस्वीकार गरेको थियो । माओवादी नेताले जबज राख्ने भए माओवाद पनि मार्ग निर्देशक सिद्धान्तका रूपमा राख्नुपर्ने अडान राखेका थिए ।
दुई अध्यक्ष निरन्तर छलफल जारी राख्दै एकताको टुंगो लगाउने पक्षमा देखिए पनि दोस्रो तहका नेता भने एकतापछि आफ्नो पोजिसन अहिले नै मिलाउन भन्दै असहयोगी भूमिकामा देखिएका हुन्, राजधानी दैनिकमा खबर छ ।