०५ साउन २०८३, मंगलबार

‘किसुनजीकी कान्छी दिदी’ राज्यमन्त्री बनेकी सुवर्ण को हुन ?

कात्तिक २०, २०७४
‘किसुनजीकी कान्छी दिदी’ राज्यमन्त्री बनेकी सुवर्ण को हुन ?

 

काठमाडौं- पहेंलो पच्छ्यौरी, पहेंलो टीका र काँधमा छड्के झोला बोकेकी एकजना वृद्धा दिउँसो प्रायः सिंहदरबारमा मन्त्रालय चाहार्दै हिँडिरहेकी भेटिन्छिन् । झट्ट हेर्दा देवघाटकी ‘भक्तेनी’ जस्ती देखिने ती महिला व्यक्तिगत भनसुनका लागि भन्दा पनि जिल्लामा विकास निर्माणका आयोजना माग्दै मन्त्री र सचिवको कोठामा धाइरहेकी देखिन्छिन् ।

subarna-jwarchan

मन्त्रालयमा धाइरहने वृद्धा हुन्– नेपाली काँग्रेसकी सांसद सुवर्ण ज्वारचन अर्थात ‘कान्छी थकाल्नी’ । गुल्मी, पाल्पा र रुपन्देही आसपासमा सुवर्ण ज्वारचन भन्दा ‘कान्छी थकल्नी’ नाम लोकप्रिय छ । उसो त नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई पनि उनलाई ‘कान्छी दिदी’ भनेर सम्बोधन गर्दथे, भलै उमेरले उनी भट्टराई भन्दा कान्छी भएपनि ।

खरो स्वभावकी तर दयावान ‘समाजसेवी’ नेत्रीको रूपमा उनले आफ्नो परिचय बनाएकी छिन्, गुल्मी आसपासमा । जतिबेला नेपालका आम महिलाहरू राजनीतिको ‘र’ उच्चारण गर्न डराउँथे, त्यो बेलादेखि सुवर्ण ज्वारचन राजनीतिमा होमिएकी थिइन् ।

‘त्योबेला कोही पनि आउन नमान्ने, कार्यक्रम गर्नप-यो भने घरघर बोलाउन जानुपर्ने,’ २५ वर्षअघिका दिन सम्झँदै सुर्वण भन्छिन्, ‘आजभोलि त कार्यक्रम गर्ने भन्यो भने पुरुषभन्दा महिला धेरै आउँछन् ।’

पञ्चायतविरुद्ध संघर्ष

पञ्चायतविरुद्ध विक्रम संवत् २०३६ सालको जनमत संग्रह र २०४२ सालको सत्याग्रह आन्दोलनमा सहभागी भएकी सुवर्णले पश्चिम नेपालमा एकजना ‘क्रान्तिकारी’ महिला नेतृत्वको रूपमा छवि बनाएकी छिन् ।

अहिलेपनि सुवर्ण अर्थात ‘कान्छी थकाल्नी’को नाम सुन्दा कतिपयका रौं ठाडा हुन्छन् । कम्युनिस्टप्रति अनुदार रहेको आरोप लाग्ने उनले जिल्लामा कम्युनिस्ट कार्यकर्तालाई झापड हानेको समेत आरोप लाग्नेगर्दछ ।

२०४८ सालमा सरकारको नेतृत्व गरेपछि देशभर काँग्रेसका कार्यकर्ता उग्र र कम्युनिस्टविरोधी बनेका थिए । ‘धेरै कठिन संघर्ष गरियो, माओवादीले झण्डै मारेका, रातभर हिँडेर खालि खुट्टा रिडीसम्म आएर बाँचें,’ उनले सुनाइन् ।

२०४९ सालमा गुल्मी जिल्लाको जिविस उपसभापति निर्वाचित भएपछि उनी झन् चर्चित भइन् । राजनीतिभन्दा पनि उनको परिचय समाजसेवाको क्षेत्रमा चर्चित छ । सम्पूर्ण देशको लागि नीति बनाउने हैसियतमा उनी छैनन्, तर आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि उनी रात दिन सक्रिय छिन् । ‘रिडी, रुद्रवेणी वामीटक्सारसम्म बाटो बनाउन धेरै लडेँ, कतिपटक काठमाडौं धाएँ, धेरै दुःख गरेर बाटो बनाइयो, अहिले जनतालाई सुविस्ता भएको छ,’ सुवर्णको कथन छ ।

विसं २००२ मा गुल्मीमा जन्मिएकी सुवर्ण ७१ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छिन् । ‘यो सरकार बनेपछि म ५० पटक नपुगेको कुन मन्त्रालय होला ? चारवटा बाटोको माग गर्दै विजय गच्छेदारकोमा गएकी थिएँ,’ सुवर्णले भनिन्, ‘दुईवटा ‘कन्फर्म’ भयो भनेका थिए, ठगेछन् ।’

subarna-jwarchan

बिपीले टिकट नदिएपछि केआइ सिंहको पार्टीमा

परिवारको राजनीतिक पृठभूमिका कारण सुवर्ण राजनीतिमा होमिएकी थिइन् । दाजु काँग्रेसका नेता, दिदी पञ्चायतकी सदस्य । सुवर्णका दाजु डिठ्ठा तामुजन लालचन नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता थिए । लालचनलाई भेटन श्रीभद्र शर्मा, थिरबम मल्लजस्ता नेता उनको घरमा पुग्थे । यो २०१५ साल आसपासको कुरा हो ।

पहिलो संसदीय निर्वाचनमा बिपी कोइरालाले क्या. गिरिबहादुर बुढाथोकीलाई उम्मेदवार बनाएपछि लालचनले डा. केआइ सिंहको पार्टीबाट चुनाव लड्ने निधो गरे । त्यतिबेला गुल्मीमा दुईवटा निर्वाचन क्षेत्र थिए । वार गुल्मी र पार गुल्मी भनेर बडियार खोलाले सिमाना छुट्ट्याएको थियो ।

केआइ सिंहको पार्टीको चुनाव चिह्न थियो– धानको बाला । त्यो बेला एउटा गीत चर्चित बनेको थियो, ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो ।’ चुनावमा सुवर्णका दाजुले १५ सय भोटले चुनाव हारे ।

क्रान्तिकारी काँग्रेसका उम्मेदवारको घरमा दिदी सुकदेवी लालचन भने पञ्चायत सदस्य बनिन्, तर पनि राजनीतिक सहिष्णुता कायम थियो । ‘पञ्चायतका मानिस आउँदा म चुप बस्थें, काँग्रेसका मान्छे आउदा दिदी चुप बस्ने,’ ज्वारचनले पुराना दिन सम्झिइन् ।

जिल्लामा पार्टी स्थापनाका लागि गिरिजाप्रसाद कोइराला २०३३ सालमा गुल्मीमा पुगेका थिए । त्यतिबेला काँग्रेसको सदस्य बन्ने महिला फेला पार्न मुस्किल थियो । भागवत ज्ञवालीको अध्यक्षतामा गठन गरिएको कार्यसमितिमा सुवर्ण सदस्य बनिन् ।

‘मलाइ राजनीति गरेर केही लिनुछैन, आफ्नो ठाउँलाई केही गर्न सके भने त्यही ठूलो कुरा हो,’ उनी भन्छिन् ।

बोटेका छोराछोरी पढाउन स्कुल

सुवर्णको पहल र सक्रियतामा गुल्मीको चोरकाटेमा प्रावि स्कुलको स्थापना भयो, पञ्चायत सरकारले एकजना शिक्षक दिएपछि । ‘अहिलेको जमानामा केटाकेटीलाई पढाउनुपर्छ भनेर स्कुल खोलियो, तर शुरुशुरुमा केटाकेटी आएनन्, पिपलगेडी मिठाई बाँडेर पनि विद्यार्थीलाई तान्यौं,’ सुवर्णले भनिन् ।

‘प्राविलाई निमावि तहमा स्तरोन्नति ग¥यांै, तर तलब दिन सकिएन । गुरु परमानन्दलाई लगेर गुल्मी जिल्लामै धान्याञ्चल महायज्ञ ग-यौं र स्कुललाई प्रस्तावित मावि बनायौं । अहिले त्यहाँ उच्च मावि बनाएका छौं । धान्याञ्चल महायज्ञपछि चोरकाटेको नाम परिवर्तन गरेर परमानन्द नगर राखियो ।’

‘अमेरिका अस्ट्रेलिया जान नसक्ने विद्यार्थीले आफ्नै गाउँमा स्तरीय शिक्षा पढ्न पाउन् भन्ने मेरो सपना हो । अहिले पनि विद्यार्थीहरू बिहानभरि पढेर घाँसका भारी लिएर घर जान्छन्,’ सुवर्ण भन्छिन् । ‘क्याम्पस पढ्नका लागि काठमाडांै, बुटवल जान नपरोस् भन्ने मेरो चाहना हो ।’

subarna-jwarchan

गुल्मीको जोहाङ, रूपाकोट आसपासलाई केन्द्र बनाएर स्तरीय क्याम्पस स्थापना गर्ने आफ्नो योजना रहेको सुवर्णले बताइन् ।

‘बल्लबल्ल पाँच कक्षा पढेर जोत्ने र लाहुर जाने गर्दथे, अहिले १२ कक्षा नपढेको कोही छैन,’ उनले भनिन्, ‘स्तरीय शिक्षा दिने क्याम्पस स्थापना गर्ने मेरो सपना छ, खोल्नका लागि मात्र होइन ।’

हिन्दु धर्मकी कट्टर भक्त

सनातन हिन्दु धर्मकी पक्षधर सुवर्णको चिनजान भारतको प्रसिद्ध तीर्थ हरिद्वारका पुजारीहरूसँग छ । आउँदो हिउँदमा हरिद्वारका पण्डितलाई ल्याएर चोरकाटेमै महायज्ञ लगाउने तयारी छ उनको, वृद्धाश्रम निर्माणका लागि ।

धर्मनिरपेक्षताको विरोधमा सुवर्णले संसदमा गरेको एउटा सम्बोधन चर्चित बनेको थियो : ‘संविधानमा धर्मनिरपेक्षता राख्नुभयो भने भगवान् शिव प्रकट भएर तपाईंहरूलाई खरानी बनाउनुहुनेछ ।’

संविधानमा धर्मनिरपेक्ष राखिएपनि त्यसलाई हटाएरै छाड्ने उनको विश्वास छ ।

(१९ असार २०७३ मा प्रकाशित, पुनः प्रकाशित १६ मंसिर)

salt training

कमेन्ट गर्नुहोस्