
काठमाडौं, ९ फागुन – एमाले र माओवादीकेन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे प्रारम्भिक आधारपत्रमा हस्ताक्षर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका मन्त्रीलाई पनि सपथ गराउने तयारी गरेका छन् । ७ बुँदे सहमतिमा दुबै पार्टीका विचारलाई समेटेर जाने विषयमा समझदारी भएसँगै माओवादी सरकारमा जान राजी भएको र क–कसलाई मन्त्री बनाउने भन्नेमा छलफलमा जुटेको बताइएको छ । यसअघि एकीकृत पार्टीको विचारमा सहमति नजुटेसम्म सरकारमा नजाने माओवादीले निर्णय गरेको थियो ।
गएको बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए ।
राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गरेकी छिन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई आज मनोनयन गरेकी हुन् ।
मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम पठाएको थियो ।
विप्लवको बम आतंक
कार्यकर्ता पक्राउको विरोधमा विप्लव नेतृत्वले मंगलबार बन्दको आह्वान गर्यो । बन्दको खासै प्रभाव नपरेपनि देशका विभिन्न स्थानमा बम राखेर विप्लवका कार्यकर्ताले आतंक सिर्जना गरे । राजधानीको तीनकुनेमा समेत विप्लवका कार्यकर्ताले बम राखेका थिए । उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो । विप्लका कार्यकर्ताले धादिङ, पोखरा, भक्तपुर स्यांजालगायतका स्थानमा समेत बम राखेर आतंक सिर्जना गरेका थिए ।
पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा मंगलबार भएको टाइम बम विस्फोटनमा परी दुईजना घाइते भएका छन् ।
पृथ्वी राजमार्गको विजयपुर पुल नजिकै अचानक बम विस्फोट हुँदा शंकास्पद वस्तु भनेर रिपोर्टिङमा पुगेका रेडियो गण्डकी एवम् गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे र अस्थायी प्रहरी पोस्ट चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री घाइते भएका हुुन् ।
यसैबीच प्रहरीले विप्लवका २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए ।
निर्वाचन अघिको सहमतिअनुसार नै पार्टी एकताः दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचन अघि नेकपा (एमाले)सँग गरेको सहमतिअनुसार नै पार्टी एकता भएको बताएका छन्।
भरतपुर महानगरपालिका–२२ मा रहेको अमर माध्यामिक विद्यालयको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले दुई पार्टीबीचको एकताले अब नेपाललाई समृद्ध, विकास र सुशासनतर्फ अगाडि बढाउने उद्घोष गरे ।
क्रिकेट खेलाडी केसी सम्मानित
राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा मंगलबार स्वागत तथा सम्मान गरिएको छ ।
बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित भएका हुन् ।
बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुपमा सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
बागलुङ नगरपालिका–८ सिगानामा जन्मेका केसीले हालै आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेलेका थिए ।
सोही जितपछि नेपाली क्रिकेट टोली जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेलको यात्रा तय गर्न सफल भएको छ ।
डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ मा
अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंगलबार डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुझेका छन् ।
डा केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा अर्को पेशी फागुन १५ गतेका लागि तोकिएको छ । डा केसीले अदालतमा बुझाएको लिखित जवाफमा गलत निर्णय र काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना नहुने जवाफ पेश गरेको अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए ।