
काठमाडौं, ९ फागुन- नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरी पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति जुटेको भए पनि निर्वाचन आयोगमा सो नामको पार्टी पहिल्यै दर्ता भएको पाइएको छ ।
आयोगले नेपाल कम्युनिस्ट पार्टी पहिल्यै दर्ता भइसकेको र सो पार्टीको अध्यक्ष ऋषिराम कट्टेल रहेको जनाउँदै एउटै नाममा दुईवटा पार्टी दर्ता गर्न नमिल्ने पनि स्पष्ट पारेको छ ।एमाले र माओवादी केन्द्रबीच सोमबार भएको सातबुँदे सहमतिपत्रको पहिलो बुँदामै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने उल्लेख छ ।
आयोगका प्रवक्ता नवराज ढकालले उही नामका दुईवटा पार्टी आयोगमा दर्ता हुन नसक्ने बताए । ‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ९ अनुसार उही नामका दुईवटा पार्टी दर्ता हुन सक्दैैन,’ ढकालले भने, ‘तर, नामको अघि वा पछि कुनै शब्द थप्ने वा जोड्ने हो भने चाहिँ दर्ता हुन सक्छ ।’
राजनीतिक दलसम्बन्धी (पहिलो संशोधन) ऐन २०७४ को दफा ९ मा दलको नाम, झन्डा र चिह्नको संरक्षणसम्बन्धी व्यवस्था छ । जसमा ऐनको दफा ४ बमोजिम दर्ता भएको दलको नाम, झन्डा र चिह्न अरू कसैले प्रयोग गर्न नपाउने उल्लेख छ । दफा ४ मा दल दर्तासम्बन्धी व्यवस्था छ, राजधानी दैनिकमा खबर छ ।