
काठमाडौं १० फागुन– मन्त्रालयको भागवण्डा मिलाउन तथा पार्टी एकताका लागि आवस्यक दस्तावेज तयार पार्न नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसिरेको छ । दुइदलले बिहीवार मन्त्रालयको संख्या तोकेर मन्त्रालयको भागवण्डा समेत टुंगाउने तयारी गरेका छन् ।
प्रधामनन्त्री निवास बालुवाटारमा जारी संयुक्त कार्यदलको बैठकमा विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलका सदस्यहरु उपस्थित छन् । संयुक्त बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु सहभागि छन् ।
मन्त्रालय भागवण्डामा सहमति जुटन नसक्दा बुधवार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम समयमा स्थगित भएको थियो ।
बैठकमा मुख्यत पार्टी एकता सम्बन्धी दस्तावेजमाथि छलफल भएको छ । पार्टी एकता प्रतिवेदन तयार गर्न गठित कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, सुवास नेम्वाङ, भीम रावल, प्रदीप ज्ञवाली र रघुजी पन्त र रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेको कार्यदल गठन भएको थियो ।
दुई दलले संगठनात्मक र विधान मस्यौदा तयार गर्न एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन, जनार्दन शर्मा, मातृका यादव र गिरीराजमणि पोखरेल रहेको कार्यदल गठन गरेका थिए ।