
बुटवल, ११ फागुन -बुटवलमा क्रियाशील रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई बिरामी बोक्न ५३ लाख रूपैयाँको एसी गाडी प्रदान गरेको छ ।
निजी सवारी साधन नभएका सर्वसाधारणलाई अस्पताल जान र घर फर्किन समस्या भएको भन्दै क्लबले ५३ लाख रूपैयाँको एसी बस खरिद गरी निःशुल्क सञ्चालन गर्न अस्पताललाई दिएको हो ।
अब बुटवल तथा यस आसपासका विरामीहरू उपचारका लागि मुटु अस्पताल आउन जान समस्या पर्ने छैन ।
मुटु अस्पतालको लागि प्रदान गरिएको बस सेवाको शुक्रबार प्रदेश नम्बर पाँचका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले शुभारम्भ गरे ।
रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष अभिषेक गुप्ताले यहाँ क्षेत्रका विरामीहरू सेवा प्रदान गर्ने उद्देश्यले क्लबका आवद्ध सदस्यहरुबाट १÷१ लाख रूपैयाँ संकलन गरी बस किनेको बताए । अस्पतालमा सेवा लिन आउने बिरामी र बिरामीका आफन्तहरुलाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले बस सेवा सञ्चालन गरिएको हो ।
उपत्यका बाहिर २०७० सालमा स्थापना भएको अस्पतालले विभिन्न सेवाहरु थप गर्दै लगेको छ । बसले पहिलो चरणमा बुटवलको गोलपार्कदेखि तिलोत्तमा मणिग्रामसम्मका सर्वसाधारणलाई अस्पताल सम्म ल्याउने र अस्पतालदेखि पुनः गोलपार्क हुंदै मणिग्राम सम्म निशुल्क सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।
सो अवसरमा बोल्दै मन्त्री चौधरीले समुदाय स्तरबाट संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले नागरिकहरुलाई प्रदान गरेको सेवा अनुकरणीय रहेको बताए । उनले सेवा दिनुमात्र ठूलो कुरा नहुने भन्दै गुणस्तरीय सेवा प्रदानमा निरन्तर ध्यान दिन आग्रह गरे ।
मन्त्री चौधरीले बुटवललाई पांच नंं प्रदेशको स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास गर्ने प्रदेश सरकारको प्रतिबद्धता अनुरुप मुटु अस्पताललाई पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले अस्पतालको जग्गा प्रँप्ती र भवन निर्माणको लागि प्रदेश सरकारसंगै स्थानीय सरकारको तर्फबाट बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकालाई पनि आवश्यक सहयोग गर्न आग्रह गरे ।
अस्पतालका अध्यक्ष एजाज आलमले जग्गा प्रँप्त नहुंदा सांघुरो स्थानबाट सेवा प्रदान गर्न बाध्य भएको भन्दै जग्गा प्राप्तीको लागि सबै तहबाट आवश्यक पहल गर्न आग्रह गरे ।