१० असार २०८३, बुधबार

आइतबार सरकार विस्तार हुने

फागुन ११, २०७४
आइतबार सरकार विस्तार हुने

काठमाडौँ, ११ फागुन - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पर्सि आइतबार सरकार विस्तार हुने खुलासा गर्नुभएको छ । 

आज यहाँ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकार विस्तारका विषयमा नेकपा(एमाले)सँग छलफल टुंगिएको र आइतबार एकमुष्ठ रुपमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो । 

उहाँले भन्नुभयो, “एमालेले पनि मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको अन्तिम टुंगो लगाउन छलफल गरिरहेको छ । माओवादी केन्द्रका तर्फबाट करिब–करिब निर्णय गरिएको छ ।” 

सबै वर्ग क्षेत्रलार्ई मिलाउनु पर्दा केही समय लागेको जस्तो देखिएपनि तत्काल सरकार विस्तार गरेर जनताको पक्षमा काम गरिहाल्ने हुटहुटी वर्तमान सरकारमा रहेको उहाँको भनाइ थियो । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको बताइए पनि उहाँले शपथ ग्रहण समारोहमा नै नाम सार्वजनिक हुने उल्लेख गर्नुभयो । 

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिहीबारको बैठकले मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको नामावली चयन गर्न अध्यक्ष दाहाल तथा नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिएको थियो । 

माओवादी केन्द्रले पार्टीका वरिष्ठ नेता थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । एमाले र माओवादी केन्द्रको सहमतिअनुसार एमालले १० र माओवादी केन्द्रले सात मन्त्रालय लिने सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्