
काठमाडौँ, १२ फागुन- नेपालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार निर्माणसँगै उत्तर–दक्षिणको सक्रियता बढेर गएको छ । यसको झल्को शुक्रबार प्रधानमन्त्री ओलीको जन्मदिनका दिन देखियो ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली बिहानैदेखि आफ्नो ६७औं जन्मदिन मनाउन व्यस्त थिए । यही व्यस्तताबीच भारतीय र चिनियाँ राजदूतहरू छुट्टाछुट्टै रूपमा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई शुभकामना दिए । उनीहरू बालुवाटार पुग्नु जन्म दिनको शुभकामना मात्र दिनु थिएन, नेपालको राजनीतिमा आफ्नो उपस्थिति जनाउनु पनि थियो ।
शुक्रबार बिहानैदेखि प्रधानमन्त्रीको दिनभरको कार्यतालिका व्यस्त थियो । बिहानै बालुवाटारमा क्याबिनेटको बैठक आयोजना गरिएको थियो । धुम्बाराहीबाट ल्याइएको केक काटेलगत्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमीले ल्याएको फुटबल आकारको केक काट्ने कार्यक्रम बनेको थियो ।
शुक्रबार बिहानै बालुवाटारमा दुई छिमेकी देशका राजदूतावासबाट प्रधानमन्त्रीको समय मागियो । प्रधानमन्त्रीको सचिवालयलाई भारतीय दूतावासबाट नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी र चिनियाँ दूतावासबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले प्रधानमन्त्रीसँग भेट गर्न चाहेको जानकारी गराइयो ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको व्यस्त समयबाट दुई राजदूतका लागि समय निकालिदिए । ‘दुई राजदूतहरू आएर शुभकामना दिनुभयो, उहाँहरूले नेपालमा राजनीतिक स्थायित्व र विकासका लागि नयाँ सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने ।
प्रधानमन्त्रीको जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर कूटनीतिक नियोगका प्रमुखले शुभकामना दिनु सामान्य कूटनीतिक नियमभन्दा नौलो भएको खबर राजधानी दैनिकमा छापिएको छ।