२८ जेठ २०८३, बिहीबार

छोरीसँगै स्कूलमा भर्ना भएकी धमकलीको संसद यात्रा

फागुन १२, २०७४
छोरीसँगै स्कूलमा भर्ना भएकी धमकलीको संसद यात्रा

बुटवल, १२ फागुन– दाङको विकट क्षेत्र बबई गाउँपालिका–६, टिकुलीगैरा गाउँमा ५० जनाको एउटा संयुक्त परिवार थियो । त्यसमा पनि गाउँका दुई ‘जमिनदार’कहाँ काम गरेर त्यत्रो परिवार पालिनु पर्ने वाध्यता । यो बेला परिवारमै कसले कतिबेला खायो, के खायो र के गरिरहेको छ भन्नेसम्म भेऊ नहुने । सबैले विहान सवेरैदेखि रातिसम्म काममा जोतिनैपर्ने थियो । उक्त संयुक्त परिवारका केटाकेटीसमेत स्कुल जाने अवस्थामा थिएनन् । त्यहीँ परिवेशमा हुर्कँदै थिइन् एक छोरी–धमकली चौधरी । 

उनी जान्ने भएदेखि नै बाबुआमा, काका–काकी, दाजुभाई सबै जना काममा जोतिएका हुन्थे । उनी दिदी–बहिनीहरुसित गाई बाख्रा चराउन जान्थिन् । पढ्ने रहर त थियो उनलाई तर,त्यो परिवारले स्कूल पठाउने अवस्था थिएन् । बालसुलभ इच्छा त्यत्तिकै मर्न दिने कुरै भएन । बाख्रा चराउन जाँदा पखेरामा भेटिने चेप्टा ढुंगामा ढुंगाकै खरी र अंगारले अक्षर कोरेर पोखिन थाल्यो । 

कतै देखेको र कतै सुनेको भरमा उनले त्यसैगरी बाख्रा चराउनेसमयलाई अक्षर कोरेर विताउँदै आइन् । आफूतिरका पाँच दिदी बहिनी र दुई भाइसहित हुर्किएकी धमकली त्यतिबेला ११ वर्षकी थिइन् । बाबा–आमा र संयुक्त परिवारका अरु सदस्यहरुसंगै उनी जमिनदारकोमा काम गर्न जानुपथ्र्यो । १६ वर्ष पुग्दा नपुग्दै माइती नजिकैको दङीसरण गाउँपालिका–३, सखौरा गाउँमा श्रीराम चौधरीसँग उनको बिहे भयो ।

अगुवा नारी

यो हो, आज भन्दा ३७ वर्ष अघिको जीवनकथा । माइतीमा छँदा ढुंगामा अंगारले कोर्न सिकेकी उनै धमकली विहेपछि पनि त्यो इच्छा मारिनन् र थप मेहनत गर्दै गइन् । अहिले उनी शिक्षित, अगुवा, समाजसेवी, राजनीतिज्ञ हुँदै सांसद बनेकी छिन् । बाल्यकालको भन्दा पनि कडा दुःख, मेहनत गरेर उनले आफ्नो एउटा चाहना पूरा गर्न सकिन् । बिहेभइसकेपछि यताको करिब १४ वर्षको अवधिमा ४९ वर्ष टेकेकी उनै धमकलीले आफ्नो बालसुलभ चाहना पूरा मात्रै गरिनन् गाउँमै अगुवा नारी, समाजसेवी हुँदै सांसद बन्न सकिन् । 

एमालेको सदस्यता

उनको जीवनमा यसरी परिवर्तन आउनुका पछाडि उनकै पति, जेठाजु–देवर र केही छिमेकीहरु थिए । गाउँका अगुवाहरु सुकदेव, मंगु, मानबहादुर, भागिरामलगायतले धमकलीको जीवनमा परिवर्तन ल्याउन ठूलै सहाराको काम गरे । उनीहरु राजनीतिक दलका विभिन्न तहका नेताहरु थिए । २०५० सालमा उनै अगुवाहरुमार्फत गाउँमा प्रौढ शिक्षाको सुरुआत गराए र धमकलीजस्ता इच्छाशक्ति भएकालाई पढाइसंगै राजनीतिमा पनि आवद्ध बनाए । धमकलीलाई केहीसमयपछि मात्रै थाहा भयो त्यसरी सघाउने र परिवारमा पनि वातावरण मिलाइदिने नेकपा एमालेका नेताहरु रहेछन् भनेर । उनी त्यहीँ पार्टीको सदस्यता लिइन् । सोही पार्टीबाट उनी दाङको क्षेत्र नं. ३ को प्रदेशसभा क्षेत्र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । बुहारी हुँदा पढ्न सघाउने, समाजसेवा नै राजनीति हो भनेर सिकाउनेदेखि अहिलेको अवस्थाका बारेमा अपडेट बनाउनेसम्मका काममा उनलाई धेरै नेताहरुले सघाउँदै आएका छन् । 

एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल त उनको घरमा पुगेरै थप सफलताको शुभकामना दिंदै आवश्यक सहयोग लिन आग्रह गरेका थिए । ‘विष्णु पौडेलले  मेरोबारेमा सबै जानकारी लिइसक्नुभएको रहेछ, मलाई त कत्ती खुशी लाग्यो’ धमकलीले भनिन्–‘अब थप जिम्मेवारी बढेको र मनोबल उचो भएको छ ।’ त्यतिञ्जेल धमकलीलाई दुई सन्तान भइसकेका थिए । काखमा नानीबाबु बोकेर उनी रातिमा प्रौढ शिक्षा लिन जान्थिन् । राति ११ बजेसम्म पढ्ने र विहान ३ बजेनै उठेर घरको काम सक्नुपर्ने थियो । उनी संघर्ष गर्दै गइन् । ठूली छोरी हुर्केर स्कुल जान थालिसकेकी थिइन् । 

छोरीसँगै स्कूल भर्ना

२०५५ सालमा बीरेन्द्र मावि हेकुलीमा छोरीसंगै उनी कक्षा ५ मा भर्ना भइन् । बुहारीको काम, आमाको काम र विद्यार्थीको मेहनतले उनी पूरै थिचिएकी थिइन् । तर, कत्तिपनि विचलित भइनन् । एक वर्षसम्म कठिनाइ भुलेर बढेको प्रौढ कक्षाले उनलाई एकैचोटी कक्षा ५ मा भर्ना हुन सजिलो भयो । कक्षा ९ सम्म आमाछोरी संगै थिए । तर, उनी कक्षा ९ मा फेल भइन् । छोरीले ०६१ मा एसएलसी दिंदा उनले छोरीकै किताबहरु हेर्नेगर्थिन । फलस्वरुप ०६३ मा तेस्रो प्रयासमा धमकलीले पनि एसएसली पास गरिन् । ३२ वर्षको उमेरमा विद्यालय छिरेकी उनले ४२ वर्षकी हुँदा एसएसली पास गरिन् । उनी सातामा तीन÷चार दिनमात्रै स्कुल जान्थिन् । चार सन्तान र खेतवारीकोसमेत काम हेर्दा उनलाई स्कुल जाने फर्सद नमिलेपनि पढाई छाड्नै हुन्न भन्ने दृढता उनमा दह्रो थियो । पहिलो वर्ष फेल भइन, दोस्रोमा दुई वटा विषय लाग्यो त्यतिबेला काखमा नानी भएकाले परीक्षा दिन पाइनन् तेस्रो पटकमा सबै विषयको परीक्षा दिइन र पास पनि भइन् ।

एसएलसी दिनका लागि उनलाई हेकुलीबाट तुलसीपुरमा आउनुपथ्र्यौ । त्यतिबेला घरबाट पति श्रीरामले तरकारी बोराका बोरा तरकारी बेच्नका लागि पठाउँथे उनले त्यहीँ तरकारी बेच्ने र पढ्ने गर्थिन् । ‘तरकारी बेच्ने काम अहिले पनि गर्छु, कामलाई सानो भन्दिनँ’ श्रम केही न केही श्रम त गर्नैपर्छ भन्ने उनको सुझाव छ । बुहारीले, आमाले एसएलसी पास गर्ने गाउँकी उनी एक्ली थिइन् । सबैले वाह वाह गर्थे । एसएलसी पछि औपचारिक कक्षा त लिइनन तर, पार्टी नेताहरुसंगको संगतमा थुप्रै विषयका पुस्तकहरु अध्यय्न गर्ने काम भने छाडिनन् । ‘अहिले पनि केही कुरा सोध्नुप¥यो भने विष्णु कमरेड, शंकर कमरेड, प्रदीप कमरेड, युवाराज कमरेड सबैलाई सिधै फोन गर्छु र सोध्छु’ उनले निर्धक्क भनिन् । 

उनकी जेठी छोरी विनाले मास्टर्स पास गरेर सामाजिक संस्थामा जागिर गर्छिन्, कान्छी छोरी सपनाले बीबीएस पास गरेर बैंकमा काम गर्छिन् । जेठो छोरा बीएड पास गरेर विदेश जाने तयारीमा छन् भने कान्छोले ल्याब पढिरहेकाछन् ।  धमकलीले गाउँमा प्रौढ कक्षाहरु निरन्तर बनाउने, छोरी–बुहारीलाई नियमित पढ्न पठाउने, स्कुल पठाउनेदेखि स्वास्थ्य शिविर बसाउने र लैंगिक हिंसाका विरुद्धमासमेत थुपै्र अभियान चलाइन् । पार्टीको अनेमसंघ हुँदै गाउँ कमिटी र अहिले जिल्ला कमिटीमा समेत रहेकी उनले पार्टीकै नेता कार्यकर्ताहरुलाई यस्ता काममा केन्द्रित गराउँथिन् । 

हिंसाकाविरुद्धमा उनले पार्टीका नेता–कार्यकर्ताहरुलाई कैयौंपटक सार्वजनिक प्रतिबद्धता गर्न लगाउँथिन् । त्यतिबेला गाउँमा पाठेघरको समस्यामा धेरै महिलाहरु थिए । उनले शिविर बोलाइन र झण्डै दुई सयजना महिलाको उपचार गराइन् । उनको पहलमा प्रौढ कक्षा पढेका एक सय ६० जना महिलाहरु अहिले विभिन्न काममा सक्रिय छन् ।

अब के गर्ने इच्छा छ त भन्ने जिज्ञासामा यस्तो जवाफ दिइन्–समुदायमा प्रचारात्मक कामहरु धेरै भएका छन् अब गुणात्मक परिवर्तन चाहिन्छ, महिलालाई आरक्षण मात्रै होइन दक्षता विकासमा पनि उत्तिकै महत्व दिनुपर्छ, मलाई त कुन न कुनै जिम्मेवारी चाहिन्छ नै मैले सकुञ्जेल राजनीतिलाई समाजसेवामा लगाउने हो ।
 

salt training

कमेन्ट गर्नुहोस्