
काठमाडौं, १३ फागुन– एमाले–माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएका छन् । दुवै वाम पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा आपसी समझदारीमा टुंग्याइएका हुन् ।
‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबन्डा भइसकेको छ’, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘राष्ट्रपति एमालेलाई र सभामुख माओवादीले लिने समझदारी भएको छ ।’ एमालेले राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र १० वटा मन्त्रालय तथा माओवादी केन्द्रले उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभा उपाध्यक्ष र ७ वटा मन्त्रालय दिने समझदारी छ ।
यो सहमति एमाले–माओवादीका दुई अध्यक्षदेखि वाम एकता संयोजन समितिका शीर्ष नेताहरूबीच भएको नेताहरूको भनाइ छ । दुई दलबीच भएका सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गर्न पठाएका ३ जनाको सिफारिस फिर्ता लिँदै एमालेका २ र माओवादीका १ जना सिफारिस गर्नेसम्मका समझदारी थिए ।
सोही समझदारीका आधारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा ३ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले राष्ट्रियसभामा मनोनित गरिदिएपछि देउवा सरकारले सिफारिस गरेका तीन जना अदालत गुहार्न पुगेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।