
काठमाडौं, १३ फागुन– राष्ट्रियसभा बैठक हलमा सांसदका कुर्सीमा माइक खरीद र जडानका लागि टेण्डरबाट गरिएको कम्पनी छनोटमा भ्रष्टाचारको आशंका भएपछि संसद् सचिवालयले प्रक्रिया तत्काल स्थगन गर्न आदेश दिएको छ ।
सार्वजनिक खरिद ऐनविपरीत बढी रकम कबोल गर्ने कम्पनीलाई माइक खरिद र जडानको टेण्डर दिएको भन्दै कम रकममा टेण्डर हालेको कम्पनीले उजुरी दिएपछि प्रक्रिया स्थगन भएको हो । राष्ट्रियसभाको अधिवेशन बस्ने नौ दिनअघि माइक खरिदसम्बन्धी टेण्डरमा विवाद भएपछि सचिवालयले प्रक्रिया नै स्थगन गरेर अस्थायी रूपमा माइकको व्यवस्था गर्ने निर्णय गरेको छ ।
सचिवालयका सहसचिव कृष्णहरि खड्का संयोजकत्वको बोलपत्र समितिले माइक खरिद र जडानका लागि टेण्डर आह्वान गरेको थियो । उक्त समितिले एक करोड ७५ लाखमा टेण्डर हालेको लोटस इन्टरप्राइजेजलाई छनोट नगरी २७ लाख रुपौँ बढी हालेको सोयतो कम्पनी छनोट गरेको थियो ।
स्रोतका अनुसार बढी लागतमा टेण्डर हालेको कम्पनीलाई दिँदा विवाद हुनसक्ने कुरा संसद्का केही कर्मचारीले उठाएपछि बढी लागतमा टेण्डर हालेको सोयतोलाई २७ लाख घटाउन लगाएर टेण्डर दिइएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।