
जनक कार्की
कसैले भनेको थियो
आकाशमा भगवान् बस्छन्
शिव, क्राइस्ट, मोहम्मद या बुद्ध
को बस्छन् थाहा छैन ।
हिजोआज आकाशबाट
अनौठौ बर्सात हुँदैछ
आगोको लप्का
चट्याङ खसेजस्तै खस्दैछ ।
अग्निवर्षाले कलिला
टुसाउना लागेका मुनाहरू
फक्रिन लागेका कोपिलाहरू
आरु फूललाई असिनाले झारेझैं
लम्पसार भएर सुतेका छन् ।
यत्रो संकट पर्दा
मानवरक्षक भगवान्
ह्विस्की पिएर सुतिराछन् कि
अप्सराको कब्बालीमा मस्त छन् कि
कि कोभन्दा को कम भन्दै
होली वार चल्दैछ ।
यदि त्यसो होइन भने
खोइ त तिम्रो अवतार
देव र दानव
मिलेर बनेको मानवमा
देवत्वको खडेरी पर्दा
चेतनाको वृक्षरोपण गर्न
तिम्रो उपस्थिति ।
कि तिमी पनि डरायौ
मानवसँग
कति क्रूर भयंकर भएछ भनेर
कि आणविक बमले ध्वस्त भइसक्यो उहिले ।