
काठमाडौं, १५ फागुन — दुबई प्रहरीले श्रीदेवीको मृत्युलाई दुर्घटना बताइरहेको छ । तर त्यसका साथसाथै उसले अनुुसन्धान पूरा नहुन्जेल अन्तिम रिपोर्ट सार्वजनिक नगर्ने पनि बताएको छ ।
श्रीदेवीको मृत्युको अनुसन्धान दुबई पब्लिक प्रोसिक्युसनले गरिरहेको छ । उनको मृत्युका कारणहरू उसले खोतल्ने कोशिश गरिरहेको छ । सूत्रहरूका अनुसार, पाँचवटा कोणबा अनुसन्धान चलिरहेको छ ।
फोरेन्सिक जाँच
दुबई प्रहरीसँग विश्वस्तरीय फोरेन्सिक ल्याब छ । त्यसबाहेक दुबई प्रहरीको अनुसन्धान टोलीको रेकर्ड पनि शानदार छ । त्यसो त दुबईमा अपराध नै कम हुन्छ । श्रीदेवी बाथटबमा खसेपछि आफ्नो नियन्त्रण कसरी गुमाउन पुगिन् भन्ने कुरा पत्ता लगाउन फोरेन्सिक जाँच भइरहेको छ ।
चिकित्सकलाई सोधपुछ
दुबई प्रहरीका अनुसार एक चिकित्सकले नै होटलमा पहिले श्रीदेवीको अनुसन्धान गरेको थियो र प्राकृतिक मृत्यु घोषित गरेको थियो । त्यही डाक्टरले कार्डिएक अरेस्टको कुरा झिकेको थियो । पोस्टमार्टम रिपोर्टले त कुरा अन्तै मोडिदियो । डुबेर मृत्यु भएको रिपोर्ट पो आयो । चिकित्सकले यति ठूलो गल्ती कसरी ग–यो भन्ने विषय जान्न चाहन्छ प्रहरी ।
अल्कोहल रहस्य
श्रीदेवीको शरीरमा अल्कोहल कसरी पुग्यो भनेर पनि दुबई प्रहरीले जाँच गरिरहेको छ । उनले आफैं रक्सी पिएकी हुन् कि कसैले षड्यन्त्रपूर्वक उनलाई पिलायो ? अनि बाथटबमा पानी पूरा भरिनु संयोग थियो कि यसमा अरू केही षड्यन्त्र छ ?
मृत्युअघिको ४८ घन्टाको कल डिटेल्स
दुबई महिलाले अन्तिम ४८ घण्टा र त्यसमा पनि २४ घण्टामा गरिएका फोन कलको डिटेल पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । सूत्रहरूका अनुसार, एक विशेष नम्बरबाट श्रीदेवीलाई सबभन्दा बढी कल आएको थियो । त्यो कललाई ध्यान दिएर अन्तिम समयको सत्य पत्ता लगाउन प्रहरीले खोजिरहेको छ ।
बोनी कपूरको बयान
दुबई प्रहरीले श्रीदेवीका पति बोनी कपूरसँग प्रारम्भिक सोधपुछ गरिसकेको छ । बोनीले नै श्रीदेवी बाथटबमा डुबेको खबर पहिलोपल्ट दिएका थिए । उनले श्रीमतीलाई बाथटबमा डुबेको देखेपछि होटल स्टाफ वा प्रहरीलाई फोन गर्नुको साटो साथीलाई किन फोन गरेको भनी अनुसन्धान हुँदैछ ।
दुबई प्रहरीले श्रीदेवीको मृत्युमा षड्यन्त्रको कुरा त झिकेको छैन र तैपनि माथि उल्लेखित प्रश्नको उत्तर चाहिँ उसले खोज्दैछ । यही कारणले गर्दा श्रीदेवीको शरीर उनका परिवारका मानिसलाई सुम्पिन ढिलाइ भइरहेको छ ।
एजेन्सी