
काठमाडौं १५ फागुन– संघीय समाजवादी फोरमले सरकारमा सहभागिताका लागि दुई मन्त्रालय र उपसभामुख पदमा दावी गरेको छ । बाहिर धेरै मन्त्रालयको दावी गरेपनि नेकपा एमाले र माओवादी केन्द्रसँग सोमवार भएको वार्तामा फोरमले दुइ मन्त्रालयमा दावी गरेको हो ।
प्रमुख सत्तारुढ घटक नेकपा एमालेले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन राजी भएको थियो । फोरमले परराष्ट्र र शिक्षा मन्त्रालयको दावी गरेको छ । एमाले र माओवादीले भने एक मन्त्री र एक राज्यमन्त्री लिन फोरमसँग आग्रह गरेका छन् ।
नागरिकता, प्रदेशको सीमाङ्कन लगायत बिषयमा संविधान संशोधन गर्नुपर्ने फोरमले माग गर्दै आएको छ । प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच सोमवार संविधान संशोधन र सरकारमा सहभागिताको बिषयमा छलफल भएको थियो ।
अब हुने सरकार विस्तारमा यादव समेटिने एमाले स्रोतले बतायो । मधेसी दललाई समेत सरकारमा सहभागि गराएर सरकारको पक्षमा दुई तिहाई बहुमत पुराउने लक्ष सहित फोरमलाई सरकारमा सहभागि गराउने प्रयास भएको हो ।