१३ असार २०८३, शनिबार

अपराधकर्ममा 'बर्दीधारी' : बलात्कारदेखि सुन तस्करीसम्मका अपराधमा प्रहरी संलग्नता

फागुन १५, २०७४
अपराधकर्ममा 'बर्दीधारी' : बलात्कारदेखि सुन तस्करीसम्मका अपराधमा प्रहरी संलग्नता

काठमाडौं, १५ फागुन-माघ ७ गते राति काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवती बलात्कारको शिकार बनिन् । त्यो घटनामा दोेषीलाई उन्मुक्ति दिन प्रहरीकै मिलेमतो भएको रहस्य खुल्यो । प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार घटना गुपचुप राखेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परे । 

दरबारमार्गको बलात्कार घटनाको अनुसन्धान चलिरहेकै बेला इटहरीको हलगढाबाट अर्को घटना बाहिर आयो । १४ वर्षिया बालिका आफ्नै प्रेमी र उनको साथीबाट बलात्कृत भएको घटनामा पनि दोषीलाई उन्मुक्ति दिन प्रहरीकै मिलेमतो भेटियो । योे घटनामा पनि जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझी र इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर चिरञ्जीवी दाहाल निलम्बनमा परे । 

घुस्याहा प्रहरी

कात्तिक पहिलो साता महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर साह पाँच लाख घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परे । उनीहरुले एक व्यक्तिलाई झुटो मुद्दा खडा गरेर २० लाख रुपैया“ मागेका थिए । यही क्रममा पाँच लाख घुस लिँदै गर्दा उनीहरू पक्राउ परे । 

पक्राउ परेका भाटले बालाजु वृत्तका तत्कालिन डिएसपी नविनकृष्ण भण्डारीको निर्देशनमा काम गरेको खुलेपछि अख्तियारले कात्तिक २० गते ४ जना प्रहरी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

सुन तस्करीमा प्रहरी

गत माघ १८ गते, त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर राई २० तोला अवैध सुनसहित बालुवाटारबाट पक्राउ परे । विमानस्थलमा ड्युटी गरिरहेका राईले कतारबाट परवेज आलमले ल्याएको अवैध सुन गोल्डेन गेटबाट पास गराएका थिए । 

लुटपाटमा प्रहरी 

गत माघ १५ गते कलंकीस्थित सगुन होटलमा प्रहरी नायव निरीक्षक (सई) र एक जवानले जुवाखाल कब्जा गरेर ४ लाख ५० हजार लुटपाट गरे । बर्दीमै पुगेका महानगरीय प्रहरी प्रभाग कलंकीमा कार्यरत सई मदनबहादुर मल्ल र प्रहरी जवान मनोहर बुढाले जुवाडेलाई लखेटेर पैसा लुटेर हिँडेका थिए । प्रहरीले उनिहरुलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

लागूऔषध र वन्यजन्तु तस्करीमा प्रहरी

गत पुस अन्तिम साता महानगरीय प्रहरी वृत्त महाराजगञ्जले असई सुमित सिटौलालाई लागूऔषध गाँजा सहित पक्रियो । संघीय प्रहरी इकाई वाग्मतीमा कार्यरत असई सिटौला तालिमको क्रममा प्रहरी एकेडेमीमा रहेका बेला पक्राउ परेका हुन् । त्यस लगत्तै महानगरीय अपराध महाशाखाले हवल्दार जनक बोहरालाई चितुवाको छालासहित पक्राउ गरेको थियो ।

त्यस्तै माघ ५ गते, त्रिभुवन विमानस्थलमा कार्यरत हवल्दार जनक महरा बाघको छाला सहित पक्राउ परे । 

यी त पछिल्लो ६ महिनामा देखिएका ६ वटा प्रतिनिधिमूलक घटना मात्र हुन् । यसअघि प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री सुन काण्डमा मुछिएका थिए भने अर्का प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठ डलर काण्डमा मुछिएका थिए ।

यसबाहेक पनि प्रहरी कर्मचारी नै अपराधमा संलग्न भएका घटना थुपै्र घटना छन् । यस्ता घटनाबाट के पुष्टि हुन्छ भने राष्ट्र सेवाको कसम खाएका कतिपय प्रहरीमा अपराध गरेरै भए पनि कमाउने मानसिकता बढ्दै गएको छ ।

प्रहरी प्रवक्ता मनोज नेउपाने केही प्रहरी कर्मचारी अपराधमा संलग्न भएको कुरा स्वीकार्छन् । उनी भन्छन्– ‘बलात्कार जस्तो जघन्य अपराधका घटनामा समेत प्रहरीको संलग्नता देखिएको छ, यो सामान्य घटना होइन, यस्ता व्यक्ति दण्डित हुन्छन् ।’

निरन्तररूपमा यस्ता घटना दोहोरिनु संगठनका लागि दुःखद् भएको पूर्वएआइजी नवराज ढकालको निश्कर्ष छ । 

उनी भन्छन्– किन यस्तो भइरहेको छ भन्नेबारे अध्ययन हुनु जरुरी छ । नत्र यस्ता घटनाले संगठनको साख गिराएर बद्नाम बनाउ“छ । जसले प्रहरीप्रति नागरिकको हेर्ने दृष्टिकोण नै फरक पार्छ । त्यसो त अहिलेसम्म घटेका घटनामा विशेष छानविन समिति बनाउने त्यसपछि रिपोर्ट पेश गरेर संलग्नलाई निलम्बन या नसिहत दिनेभन्दा माथिको कारबाही भएको पाइँदैन । पूर्वडिआइजी केशव अधिकारी भन्छन्– ‘अपराध गरेका प्रहरी सामान्य कारवाहीमा नै छुट्ने गरेका छन् ।’ 

संगठनले उनीहरुलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिने गरेको छ । यसले गर्दा आपराधिक मनोवृत्ति भएका प्रहरी कर्मचारीको मनोबल झनै बढेको देखिन्छ । अधिकारी थप्छन्– ‘अपराधमा संलग्न कर्मचारीलाई नजोगाई धमाधम कारबाहीको दायरामा ल्याउने हो भने केही हदसम्म समस्या कम हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्