
काठमाडौं, १५ फागुन- नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडा अर्थमन्त्रालयका सचिवहरूसँग परामर्शमा जुटेका छन् । अर्थमन्त्री खतिवडा अर्थ सचिव शंकरप्रसाद अधिकारी र राजस्व सचिव शिशिरकुमार ढुंगानासँग अर्थमन्त्रालयले चाल्नुपर्ने आगामी कदमबारे परामर्शमा जुटेका हुन् ।
यसैगरी अर्थमन्त्रालयको आन्तरिक कार्यप्रणाली तथा पछिल्ला आर्थिक सूचकाङ्कबारे जानकारी लिन अर्थमन्त्रीले विभिन्न महाशाखा तथा विभागहरुमा ब्रिफिङ लिनसमेत मंगलबारदेखि थालेका छन् ।
उनले अर्थमन्त्रालय अन्तर्गत रहेका १० वटा महाशाखा र ५ वटा विभागका प्रमुखहरूसँग समेत छलफल शुरु गरिसकेका मन्त्रालयका प्रवक्ता अर्जुन पोख्रेलले जानकारी दिए ।
अर्थमन्त्रीले सबै महाशाखा तथा विभागहरूबारे जानकारी लिइसकेपछि चालू आर्थिक वर्षको मध्यावधि समीक्षा गर्ने पोख्रेलले बताए ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमा कार्य पनि अब तीव्र गतिमा अघि बढ्ने मन्त्रालयको विश्वास छ । यसअघि खतिवडाले सोमबार मात्रै अर्थमन्त्रकिो पदभार ग्रहण गरेका थिए ।
पदभार ग्रहणपछि उनले नेपालको अर्थतन्त्र अगाडि बढाउने गरी संवैधानिक सीमाभित्र रही आफ्नै कार्यशैलीमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।