०२ साउन २०८३, शनिबार

एमालेको भागमा अब ३ मन्त्रालय बाँकी; एक पक्का, दुईको भाग्य चम्किने !

फागुन १५, २०७४
एमालेको भागमा अब ३ मन्त्रालय बाँकी; एक पक्का, दुईको भाग्य चम्किने !

काठमाडौं, १५ फागुन- माओवादी केन्द्रसँगको भागबण्डामा १० मन्त्रालय पाउने सहमति गरेको एमालेले मधेसकेन्द्रित दल संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागी गराउने भएपछि अब थप ३ मन्त्रालय मात्र पाउने भएको छ । एमालेका ४ जना मन्त्रीले शपथ लिइसकेका छन् ।

सरकारमा सहभागी हुन फोरमले दुई मन्त्रालय र उपसभामुख पद पाउनु पर्ने अडान राखेको छ । संसदमा दुई तिहाइ बहुमत पुर्‍याउन फोरमलाई दुई मन्त्रालय दिन प्रधानमन्त्री केपी शर्मा ओली राजी भइसकेको एमाले स्रोतको भनाइ छ । फोरमले परराष्ट्र र शिक्षा मन्त्रालय दाबी गरेको छ ।

नेकपा एमालेको चिन्ह सूर्यबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका हृदयेश त्रिपाठीलाई समेत एउटा मन्त्रालय दिने प्रधानमन्त्री ओलीको तयारी छ । फोरमलाई सरकारमा ल्याउन माओवादीको भागमा परेको एक मन्त्रालय दिन एमालेले प्रस्ताव गरेको छ । आकांक्षी धेरै भएको भन्दै माओवादीले ७ मन्त्रालय नै आफूले पाउने पर्ने दाबी छाडेको छैन ।

फोरम र त्रिपाठीलाई ३ मन्त्रालय छुट्ट्याउँदा एमालेको भागमा ३ मन्त्रालय बाँकी रहन्छ । एमालेको कोटामा रहेका बाँकी ३ मन्त्रालयमध्ये एकमा सचिव प्रदीप ज्ञवाली मन्त्री बन्ने पक्काजस्तै छ । यसअघि अर्थ या परराष्ट्र मन्त्री बन्ने चर्चा चलेका ज्ञवाली अब सूचना तथा सञ्चार या पर्यटन बन्त्री बन्ने सम्भावना छ ।

बाँकी २ जनाको लागि झण्डै दर्जन सांसदको दाबी देखिएको छ । दुई मन्त्रीमा लगातार तीनवटा चुनाव जितेका रवीन्द्र अधिकारीको नाम मन्त्री बन्नेको सूचीको अग्रस्थानमा रहेको एमाले स्रोतको भनाइ छ । तीनपटक चुनाव जिते पनि एकपटक समेत मन्त्री बन्न नपाएका अधिकारीलाई कुनै जिम्मेवारी दिने पक्षमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली रहेको स्रोतको भनाइ छ ।

मन्त्रीका लागि प्रदेश नम्बर १ बाट सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल र सांसद यज्ञराज सुनुवारको नाम चर्चामा छ । प्रदेश नम्बर २ बाट रघुवीर महासेठ, प्रदेश नम्बर ३ बाट शेरबहादुर तामाङ, ४ बाट रवीन्द्र अधिकारी, ५ बाट प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा तथा प्रदेश नम्बर ७ बाट नारदमुनी रानाको चर्चा छ ।

कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गर्ने पद्मा अर्यालको नाम पनि मन्त्रीका लागि चर्चामा छ । यी मध्ये २ जनाको भाग्य चम्किने छ । अहिलेसम्म मन्त्री नबनेका सांसदलाई राज्यमन्त्री बनाउने एमालेको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्