
पहिला पहिला पुल्चोकमा क्वार्टर नपुगेर मन्त्रीहरु डेरा खोज्दै हिँड्थे ।
अब मन्त्रालय घटेका कारण त्यस्तो खतरा छैन । बरु, केही क्वार्टर खालि नै हुने भएको छ । यस्तो हुँदा पनि केही पूर्ववर्ति सरकारका मन्त्रीले पछि क्वार्टर नपाइएला भनेर साँचो बोकी हिँडेका छन् ।
क्वार्टरबाट घरमा सामान सार्दा छोराले चलाएको गाडी दुर्घटनामा परेको समाचार त आयो । तर, तत्कालिन गृहमन्त्री जनार्दन शर्माले सामान सुरक्षित राखेका छन् र साँचो आफूसँगै छ ।
प्रभु साह, टेकबहादुर बस्नेत, श्याम श्रेष्ठहरुले पनि क्वार्टर त छोडे तर साँचो छाडेका छैनन् ।
ठीकै हो, अहिले पनि प्रतिनिधिसभा सदस्य रहेका र माओवादी पार्टी नै सरकारमा जाने कारण मन्त्रिपरिषद्ले पूर्णता नपाएसम्म फेरि पुल्चोक जाने मौका मिल्छ कि भन्ने आशामा क्वार्टर नछाड्नु । तर पार्टीले पाँच वर्ष सरकार बनाउनँदैन भन्ने निश्चित भइसक्दा पनि निवर्तमान अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सामान नलगेको समाचार आजको जनआस्थामा छ ।
उनी साँचो लगाएर हिँडेका छन् । प्रधानमन्त्री केपी ओलीसँगै शपथ लिएका लालबाबु पण्डित मन्त्री भएको तीन दिनपछि स्वकीय सचिव वसिम आलमहरु क्वार्टर बुक गर्न पुगे ।
तर, माओवादीका पूर्वमन्त्रीहरुले ओगटेका राम्रा क्वार्टर नछोडेपछि लालबाबु व्लक डि को ५ नम्बरमा सरेका छन् । सोमबार शपथ ४ बजे हुने हल्ला थियो । तर एमालेका केही नेता आफ्ना सहयोगीलाई क्वार्टर बुक गर्न पुल्चोक पठाइसकेका थिए । एकजनाले खबर ल्याए, ‘जनार्दश शर्मा मन्त्री भएनन् भने उनले ओगटेको डि ४ राम्रो छ रे !’ तर, सोमबार क्वार्टर हेर्न कार्यकर्ता पुल्चोक पठाउने मध्ये कोही पनि मन्त्री भएनन् ।