
चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको कार्यकाल लम्ब्याउनका लागि संविधान संशोधनको प्रस्ताव गरेपछि विश्व राजनीति तरंगित भएको छ । चीनको संविधानले राष्ट्रपतिहरूलाई दुईवटा पाँचवर्षे कार्यकालमा सीमित गर्छ ।
सीको पहिलो कार्यकाल मार्च महीनामा सकिँदैछ । तर त्यसभन्दा अघि नै फेब्रुअरी २५ मा कम्युनिस्ट पार्टीले सीलाई अनिश्चित कालका लागि राष्ट्रपति बनाउने प्रस्ताव ल्यायो । सन् २०२३ मा दोस्रो कार्यकाल सकिएपछि पदमुक्त हुनुपर्ने सी अब कम्तीमा त्यसको १२ वर्षसम्म राष्ट्रपति नै रहने अनुमान गरिएको छ । सन् २०३५ सम्ममा चीन अमेरिकालाई उछिन्दै विश्वको सबभन्दा महत्त्वपूर्ण देश बन्ने भविष्यवाणीहरू गरिएका छन् ।
चीनबाहिरका विशेषगरी पश्चिमा विश्लेषकहरूले यो प्रस्ताव निरंकुशतातर्फको अर्को कदमका रूपमा विश्लेषण गरेका छन् । त्यसो त सीले गत वर्ष भएको कम्युनिस्ट पार्टीको विशेष अधिवेशनमा परम्पराविपरीत उत्तराधिकारी घोषणा नगरेर सत्तामा रहिरहन चाहेको संकेत दिइसकेका थिए । अनि सीले क्रमशः सत्ता आफूमा केन्द्रित गर्दै आफूलाई ‘कोर लीडर’ घोषणा गराउन अनि आफ्ना शत्रुहरूलाई क्रमशः सिध्याउँदै निकटवर्तीहरूलाई शक्तिशाली स्थानमा पुर्याएका पनि हुन् ।
तैपनि सीको पछिल्लो कदम विश्लेषकहरूका लागि खासै आश्चर्यजनक रहेन किनकि चीनमा राजनीतिक रूपमा कम्युनिस्ट पार्टीको अधिनायकवाद नै चलिआएको छ । सीले चालेको कदम कुनै लोकतान्त्रिक देशको नेताले गरेको हुन्थ्यो भने निकै हल्लीखल्ली र आलोचना भइसक्थ्यो । सीले आफ्नो स्थिति बलियो बनाइरहँदा उनको तुलना रुसका भ्लादिमिर पुटिन र टर्कीका रेसेप तय्यप अर्दोगानसँग गरिएको छ । अनि विश्लेषकहरूले सीलाई नयाँ बादशाहका रूपमा समेत चित्रित गरेका छन् ।
चीनको सरकारी सञ्चारमाध्यमले सीलाई सदाका लागि राष्ट्रपति बनाउने प्रस्तावको प्रतिरक्षामा अनेकौं तर्क पेश गरेका छन् । उनीहरूका तर्कलाई संश्लेषण गर्दा उदाउँदो शक्ति चीनलाई विश्व रंगमञ्चमा सशक्त बनाउनका लागि सीजस्ता बलिया नेताको नेतृत्व आवश्यक छ भन्ने देखिन्छ ।
हुन त सी राम्रो छवि भएका नेता हुन् । बहुसंख्यक चिनियाँहरू उनलाई स्नेहका साथ अंकल सी भनी बोलाउँछन् । चीनमा मौलाएको भ्रष्टाचारलाई कठोर नियन्त्रण गरेको अनि चीनलाई विश्वसामु गर्विलो बनाउनका लागि पेटी सडक परियोजना ल्याएकोमा सीको प्रशंसा हुने गरेको छ । फाइनान्सियल टाइम्समा छापिएको एक रिपोर्टअनुसार, सीको भ्रष्टाचारविरोधी अभियानले देशको अर्थतन्त्र र जनताका लागि वास्तविक लाभ दिएको छ । त्यसमाथि सीले ‘राष्ट्रको महान् पुनर्जागरण’ को भिजनलाई अघि सारेर चीनलाई फेरि महान् बनाउने खाका कोरेका छन् । त्यसैले पनि उनीप्रति बफादारहरूको संख्या ठूलो छ ।
तर स्कोक्रफ्ट सेन्टर फर स्ट्राटेजी एन्ड सेक्युरिटीका सिनियर फेलो जेमी मेट्जलले सीलाई चिरकालका लागि राष्ट्रपति बनाउने प्रस्ताव गरेर चिनियाँ कम्युनिस्ट पार्टीले ठूलै दाउ खेलेको टिप्पणी गरेका छन् ।
उनी भन्छन्, ‘सीलाई शक्तिमा राखिरहँदा चीनलाई अति नै आवश्यक रहेको परिवर्तनलाई आक्रामक रूपमा अघि बढाउन सहज हुनेछ । यसबाट चीनको विश्वव्यापी प्रभाव पनि बढ्नेछ । तर यसका साथसाथै यो कदमले चीनका समस्याहरूको समाधानमा नयाँ उपाय ल्याउने क्षमतालाई घटाउनेछ अनि कनिष्ठ अधिकारीहरूको एक पूरै पुस्तालाई नै क्रोधित तुल्याउनेछ किनकि उनीहरू वरिष्ठहरूका कारण अघि बढ्न पाउने छैनन् । अनि एकजना व्यक्तिको शासन हुँदा नवीन सोचले फक्रिने अवसर पाउने छैन ।’
त्यसो त एकजना व्यक्तिको शासनले सिंगापुरमा प्रशंसनीय काम गरेको उदाहरण छ । ली क्वान यूले लामो समयसम्म सिंगापुरको शासन चलाउँदा त्यो देशले प्रगति नै गरेको हो । तर मेट्जलका अनुसार, ‘चीनलाई सिंगापुरसँग तुलना गर्न सकिँदैन किनकि चिनियाँ समाज तथा अर्थतन्त्र एकल व्यक्तिको शासनका लागि अत्यन्तै जटिल छ ।’

द गार्डियन पत्रिकामा टम फिलिप्सले सीलाई चिरकालका लागि राष्ट्रपति बनाउने विषयको विश्लेषण गर्दै भनेका छन्, ‘शिथिल विचारधारा तथा भ्रष्टाचारले आक्रान्त कम्युनिस्ट पार्टीमा आमूल सुधार ल्याएर त्यसलाई अनि समग्र चीनलाई नै महान् बनाउने क्षमता आफूमा मात्र छ भन्ने सोच सीसँग छ । सन् २०१२ मा सत्तामा आउँदा उनले मिडल किंगडम अर्थात् चीनलाई विश्व मामिलाको केन्द्रमा पुनः पु–याउने सकंल्प गरेका थिए । गत वर्ष उनले विश्वव्यापी स्तरमा चिनियाँ शक्तिको नवयुग शुरू भएको घोषणा गरेका थिए । उनी जसरी भएपनि त्यो भिजनलाई मूर्त रूप दिन चाहन्छन् ।’
फिलिप्सका अनुसार, सीले आफूलाई जोगाउन पनि सत्तामा रहिरहन चाहेका हुन सक्छन् । उनले अनेकौं शक्तिशाली शत्रुहरूलाई सफाया गर्ने, बेइज्जत गर्ने र कारागारमा कोच्ने काम गरेका छन् । सत्तामा अनन्तकालसम्म बस्दा उनलाई शत्रुहरूले त्यस्तै स्थितिमा पु–याउने सम्भावना नै बन्द हुन्छ ।
विश्लेषक रोबर्ट डेलीले चाइनाफाइल वेबसाइटमा लेखेअनुसार, सीलाई जीवनभरिका लागि कार्यकाल दिने प्रस्ताव गरेर चिनियाँ कम्युनिस्ट पार्टीले पार्टी सदस्य तथा जनतामा आत्मविश्वास, क्षमता र स्थिरताको संकेत दिन खोजेको हो किनकि चीनमा अस्थिरताको जोखिम उच्च छ । यो जोखिम चीनको आधुनिक, सुसूचित तथा विश्वव्यापीकरणसँग परिचित समाज अनि पूर्वाधुनिक, रहस्यमयी तथा साँघुरो सोच भएको राजनीतिक प्रणालीबीचको द्वन्द्वले निम्त्याएको हो । सीले यो द्वन्द्वलाई अन्त्य गर्ने अपेक्षा पार्टीले लिएको छ । यो जटिलतालाई सीले राजनीतिक बलका साथ अन्त्य गर्ने अपेक्षा गरेको छ ।
राष्ट्रपतिमा शक्ति केन्द्रित गरेपछि चीनमा विपरीत विचारधारालाई पहिलेभन्दा बढी दमन गरिने लक्षण देखिँदैछ । माओकालीन भक्तिभावपूर्ण राजनीति सीको शासनकालमा हुने अपेक्षा गर्न सकिन्छ । इन्टरनेटमा थप लगाम लाग्न सक्छ ।

सी चिनफिङको शक्तिमा वृद्धि हुँदा त्यसले कस्तो भूराजनीतिक असर पार्छ भन्ने पनि धेरैको चासोको विषय हो । द कन्भर्सेसन वेबसाइटमा डाइलन लोह मिङ हुईले लेखेअनुसार, चीन बलियो हुँदा एसियाली मुलुकहरू झन् उसप्रति लगाव राख्न थाल्नेछन् । स्थिर र समृद्ध चीनका शक्तिशाली नेताको नजरमा पर्नका लागि ती मुलुकहरूले प्रयत्न गर्नेछन् । त्यसमाथि डोनल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाको कुनै भर पर्न नसकिने र उसले एसियाली मुलुकहरूका विषयमा मिश्रित संकेत दिएकाले चीनप्रतिको बफादारितामा नै भलाइ हुने उनीहरूको मूल्यांकन हुन सक्छ ।
त्यसमाथि सीले चीनको विदेश मन्त्रालय तथा कूटनीतिज्ञहरूमा निकै भर पर्ने गरेका छन् भनी हुई लेख्छन् । तङ साओ पिङको शासनकालमा आफैंभित्र सीमित चीनमा विदेश मन्त्रालयको खासै भूमिका थिएन । सी विश्व रंगमञ्चमा आक्रामक रूपमा अघि बढिरहँदा विदेश मन्त्रालयको स्थिति पनि बलियो बनेको छ ।
स्थिरता र समृद्धिको खोजीमा रहेको नेपालमा पनि जनताले निर्वाचनमार्फत एकीकृत वाम सरकारका लागि मत जाहेर गरिसकेको अवस्थामा सीको शासनमा चीनसँगको मैत्री सम्बन्धलाई थप अघि बढाउने अवसर प्राप्त भएको छ । सीले अघि सारेको पेटी सडक परियोजनामा हस्ताक्षर गरेर नेपालले चीनको सद्भाव कमाइसकेको छ । अब चीनको लगानीमा विकास निर्माणका परियोजनाहरूलाई तीव्र रूपमा अघि बढाएर समृद्धितर्फ पाइला चाल्नु नेपालको हितमा छ ।
एजेन्सीहरूको सहयोगमा