
काठमाडौं, २० फागुन– राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित तीनजना सदस्यको मुद्दामा सर्वोच्च अदालतले आइतवारको पेशी स्थगित गरेको छ ।
न्यायाधीशहरु प्रकाशमा सिंह राउत र हरिकृष्ण कार्कीको संयुक्त इजलाशले आइतवारको पेशी स्थगित गरेको हो । यसअघि प्रकाशमान सिंह राउतकै एकल इजलाशले गत आइतवार (फागुन १३ गते) राष्ट्रियसभामा मनोनित तीनजना सदस्यको शपथ स्थगित गर्न आदेश दिएको थियो ।
आइतवार पनि उक्त रिट राउतकै इजलाशमा परेकाले वकिलहरुले मुद्दा स्थगित गर्न माग गरेका थिए । आइतवार हेर्न नमिल्ने गरी पेशी सारिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले राष्ट्रियसभामा सिफारिस गरेका नाम फिर्ता लिँदै केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले डाक्टर युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेलको नाम राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो ।
सरकारले सिफारिस गरेकै दिन फागुन ८ गते (मंगलवार) राष्ट्रपति विद्यादेदी भण्डारीले तीन जनालाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी थिइन् ।
राष्ट्रपतिले संविधान विपरित राष्ट्रियसभा सदस्यमा नयाँ सदस्य मनोनयन गरेको भन्दै उक्त नियुक्ति खारेजीको माग गर्दै देउवा सरकारद्वारा राष्ट्रियसभा सदस्यमा सिपारिस गोपाल बस्नेतलगायतले फागुन ११ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।