०२ असार २०८३, मंगलबार

घूस बाँडफाँटमा कुरा नमिल्दा कुटपिटमै उत्रेका चार कर्मचारीमाथि 'एक्सन'

फागुन २१, २०७४
घूस बाँडफाँटमा कुरा नमिल्दा कुटपिटमै उत्रेका चार कर्मचारीमाथि 'एक्सन'

धनगढी, २१ फागुन-  घूस बाँडफाँटमा कुरा नमिल्दा कुटपिटमै उत्रेका चार जना कर्मचारी निलम्बनमा परेका छन् । धनगढीस्थित मालपोत र नापी कार्यालयमा कार्यरत ती कर्मचारीलाई विभागले निलम्बनमा राखेर छानबिन थालेको खबर कान्तिपुरमा छापिएको छ  ।
जिल्ला प्रशासनले कार्यालयभित्रै मदिरा सेवन गरेकाले स्थानीय प्रशासन ऐनअनुसार जनही हजार–हजार रुपैयाँ जरिवाना गर्दै घूस प्रकरणको अनुसन्धान गर्न एकजना अधिकृतको नेतृत्वमा टोली नै गठन गरेको छ ।

मालपोतका निमित्त कार्यालय प्रमुख मनोहर श्रेष्ठले विभागले आफूमातहतका पूर्णानन्द भट्ट र ज्ञानेन्द्र ओझालाई निलम्बन गरेर छानबिन थालेको बताए । नापी कार्यालयका प्रमुख दयानन्द जोशीले पनि दुई जनालाई निलम्बन गरिएको जानकारी दिए । वीरेन्द्र सिंह र महादेव जोशी निलम्बनमा परेका हुन् ।

नापीका कर्मचारीले केही दिनदेखि मालपोत कर्मचारीलाई सेवाग्राहीबाट लिएको रकमको हिसाब गलत दिँदा गत बिहीबार उनीहरूका बीचमा भनाभन भएको स्रोतले जनाएको छ । मदिराको नशामा विवाद बढेपछि आपसमै कुटाकुट गरेका थिए । दुवै कार्यालयका कर्मचारीको मिलेमतोमा लामो समयदेखि सेवाग्राहीबाट अवैद्य असुली भइरहेको गुनासो थियो ।

जिल्ला प्रशासनले आपसमा लेनदेन विवाद हुँदा कुटपिटमै उत्रेका कर्मचारीलाई कार्यालयभित्रै मदिरा सेवन गरेको भन्दै हजार–हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ । घूस प्रकरणमा भने कानुन अधिकृतको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । ‘कार्यालयमा मदिरा सेवन गरेको हुँदा स्थानीय प्रशासन ऐनअनुसार १–१ हजार रुपैयाँ जरिवाना गरिएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘थप अनुसन्धानका लागि कानुन अधिकृत लोकमणि पाण्डेको नेतृत्वमा छानबिन टोली गठन गरिएको छ ।’

घटनाका विषयमा आवश्यक छानबिन गरी साताभित्र रिपोर्ट दिन भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्