२२ जेठ २०८३, शुक्रबार

मुख्य समाचार : सार्कका विमति छलफलबाट टुङ्ग्याउन ओली र अब्बासी सहमत, भारतीय पक्षद्वारा गल्ती स्वीकार

फागुन २२, २०७४
मुख्य समाचार : सार्कका विमति छलफलबाट टुङ्ग्याउन ओली र अब्बासी सहमत, भारतीय पक्षद्वारा गल्ती स्वीकार

काठमाडौं, २२ फागनु–प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच राजनीतिक एवम् आर्थिक विषयमा छलफल भएको छ । होटल याक एन्ड यतीमा सोमबार साँझ भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रको सुदृढीकरणको कार्य अझै बाँकी रहेको बताएको उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । 
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का विषयमा भएका छलफलबारे सल्लाहकार रिमालले भने,“सार्क हामी सबैको पहलमा स्थापना भएको हो,  त्यसको महत्व अझै बाँकी छ, त्यसको प्रक्रियालाई अगाडि बढाउन दुवै देश प्रतिबद्ध छाै‌ भन्ने विषयमा दुवै देशका प्रधानमन्त्रीको समान धारणा छ ।” सार्कका विषयमा केही विमति भए त्यसलाई वार्ता र छलफलका माध्यमबाट टुङ्ग्याउनुपर्नेमा दुवै प्रधानमन्त्रीको जोड रहेको सल्लाहकार रिमालले जानकारी दिए । 
भेटमा लगानी, व्यापार, पर्यटन, कृषि र  मानव संसाधन विकास विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 


सम्मानमा रात्रिभोज– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औपचारिक भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा रात्रिभोज आयोजना गरे । नेपालको दुईदिने भ्रमणमा सोमबार नेपाल आएका प्रधानमन्त्री अब्बासीको सम्मानमा साँझ होटल याक एन्ड यतीमा आयोजित रात्रिभोजमा नेपालका पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।
यसअघि दिउँसो काठमाडौं आइपुगेका प्रधानमन्त्री अब्बासीलाई सैनिकमञ्च टुँडिखेलमा एक कार्यक्रमकाबीच नेपाली सेनाले सम्मान गारथ ‘गार्ड अफ अनर’ प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार बिहान शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 
राष्ट्रपतिसँगको भेटअघि उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछन् । नेपालको  दुईदिने भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री मङ्गलबार  स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । 

अन्तरिम कार्यविधि पारित– प्रतिनिधिसभाले ‘प्रतिनिधिसभाको अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो । 
बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसद खगराज अधिकारी, मानबहादुर विक, पूर्णकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अर्गरियालाई मनोनयन गरेको छ । ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको शुरुमै राष्ट्रपति कार्यालयबाट प्राप्त संसद्को पहिलो अधिवेशन आह्वान र सरकार गठनसम्बन्धी छुट्टाछुट्टै पत्र पढेर सुनाए । अर्काे बैठक फागुन २२ गते बिहान ११ बजे बस्नेछ । 
यसैगरी राष्ट्रिय सभाको पहिलो बैठकले पनि राष्ट्रिय सभाको अन्तरिम कार्यविधि २०७४ सर्वसम्मतीले पारित गरेको छ । 

संसदीय दलको नेतामा देउवा– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा सोमबार भएको मतदानबाट देउवा ४४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । 
उनका प्रतिश्पर्धी नेता प्रकाशमान सिंहको पक्षमा १९ मत खसेको छ । यसैगरी, संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार मनोनित भएका छन् । निर्वाचनपछि सभापति देउवाले निर्वाचनमा मतदान गर्ने सबैलाई धन्यवाद दिँदै अब नेपाली कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।


मतदाता नामावली सार्वजनिक– निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले सोमबार साँझ आफ्नो वेबसाइटमार्फत नामावली सार्वजनिक गरेको हो ।
संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमण्डलले तेस्रो राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ । संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् ।
आयोगले राष्ट्रपतिका लागि यही फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।


मेलम्चीको सुरुङ निर्माण– फागुन १६ गते बुधबारदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण मंगलबारदेखि शुरु हुने भएको छ । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतीक्षित आयोजनाको २७.५ किमी सुरुङ अन्तिम चरणमा पुगेर पाँच दिनदेखि काम हुन सकेको थिएन ।
इटालियन ठेकेदार कम्पनी सिएमसीले सुरुङ निर्माणमा संलग्न कामदारलाई तलब नदिएपछि बुधबारदेखि सिन्धु–ग्याल्थुम खण्डको काम रोकिएको आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । पाँच दिन काम रोकिएपनि चैत १५ सम्म काम सक्नेगरी सुरुङ निर्माण हुने आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले प्रक्रिया पु¥याएर ल्याएको बिल भुक्तानी सम्झौतामा उल्लेख भएभन्दा छिटो नै आयोजनाले गर्ने गरेको कार्यकारी निर्देशक देवकोटाले बताए । 

राजपालाई सरकारमा ल्याउने पहल– वाम सरकारमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई ल्याउने पहल जारी छ । प्रधानमन्त्री केपी ओलीले राजपालाई सरकारमा ल्याउन आइतबार र सोमबार दुई पटक राजपा अध्यक्ष महन्थ ठाकुरलगायत राजपा नेतृत्वसँग छलफल पनि गरे ।
संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरिरहेको सरकारले आइतबार र सोमबार राजपालाई पनि सरकारमा आउन पहल थालेको हो । ओली नेतृत्वको सरकारमा जाने–नजाने विषयमा निर्णय लिने जिम्मेवारी राजपाले अध्यक्ष ठाकुरलाई दिएको छ । फोरम–राजपा दुवै दललाई दुई–दुईवटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको स्रोतले दाबी गरेको छ ।
 

भारतीय पक्षद्वारा गल्ती स्वीकार– नेपालको सहमतिविना महाकालीमा पुल बनाउनु आफ्नो गल्ती भएको भारतीय पक्षले स्वीकार गरेको छ । भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिविना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो ।  
महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले अनुमति दिएपछि मात्रै सञ्चालन हुनेछन् । अबदेखि दुवैतर्फ केन्द्र सरकारको अनुमति लिएर मात्रै काठे पुलबाट आवागमन सञ्चालन गर्ने बैठकले निष्कर्ष निकालेको छ । नेपालको व्यास गाउँपालिका वडा नं २ का विभिन्न ठाउँमा चार वटा काठेपुल नेपालको सहमतिविनै लगाएको थियो । 

खेल खबर– थ्री स्टार क्लब झापामा जारी तेस्रो संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगीताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा सोमबार भएको क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफलाई १–० गोलले पराजित गर्दै थ्री स्टारले अन्तिम चारमा स्थान पक्का गरेको हो । थ्रीस्टारको जितका लागि मार्टिन्स् अजयीले ५७ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

salt training

कमेन्ट गर्नुहोस्