
काठमाडौं, २२ फागुन– नेपाली कामदारको प्रमुख गन्तव्य मानिएको साउदी अरब, ओमन र बहराइन जाने नेपालीको भिसा प्रक्रिया रोकिएको छ । यी देशमा जाने कामदारले स्वास्थ्य परीक्षण गर्न नपाएपछि भिसा रोकिएको हो ।
रोजगारका लागि छनोट भइसकेका कामदार स्वास्थ्य परीक्षणमा सफल भएपछि मात्रै भिसा प्रक्रिया सुरु हुन्छ । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले अनलाइनमार्फत फाराम भर्नुपर्ने र त्यसका लागि क्रेडिट कार्डमार्फत १० डलर भुक्तानी गर्नुपर्ने नियम लागू गरेपछि मार्च १ बाट स्वास्थ्य परीक्षण हुन सकेको छैन ।
यी देश जाने कामदारले स्वास्थ्य परीक्षणका लागि मेडिकल सेन्टरलाई ५५ सय रुपैयाँ बुझाउनुपर्छ । १० डलर यसबाहेकको थप शुल्क हो । यसअघि जीसीसीबाट अनुमतिप्राप्त गाम्का नेपालले सिधै कामदारको स्वास्थ्य परीक्षण गर्न पाउँथे ।
जीसीसीले एक वर्ष अघिदेखि नै दर्ता शुल्कबापत प्रतिव्यक्ति १० डलर लिने निर्णय गरेको थियो । ‘यो शुल्क जीसीसीको खातामा पठाउन सरकारले अनुमति दिएन,’ गाम्का नेपालका मोहन चौलागाईंले भने, ‘सरकारले अनुमति नदिएपछि सिधै अनलाइनमार्फत शुल्क बुझाउनुपर्ने नियम ल्याएको हो ।’
अनलाइनमार्फत शुल्क बुझाएपछि मात्रै कामदारले स्वास्थ्य परीक्षण गर्ने बाटो खुल्ने चौलागाईंले बताए, कान्तिपुरमा खबर छ ।