
काठमाडौं, २६ फागुन- आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले अफगानिस्तानसामु १९५ रनको चुनौती पेस गरेको छ ।
कप्तान पारस खड्काको ७५ रनको शानदार पारीको बलमा नेपालले बलियो प्रतिद्वन्द्वीसामु सामान्य चुनौती पेस गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १ बलअगावै १९४ रन जोडेर अलआउट भयो ।
नेपालका लागि पारसका अलावा दीपेन्द्रसिंह ऐरीले ३२ तथा आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान २३ रनको योगदान गरे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अफगानिस्तानका लागि मोहम्मद नाबीले ४, कप्तान रसिद खानले ३, सपुर जर्दानले २ तथा मुजिब उर रहमानले १ विकेट लिए ।
शुरुवाती २ खेलमा पराजय भोगेको नेपाल सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा छ । प्रतियोगितामा अप्रत्यासितरूपमा कमजोर प्रदर्शन गरेको अफगानिस्तानले पनि अहिलेसम्म अंक जोड्न सकेको छैन ।
नेपाल रहेको 'समूह बी'बाट स्कटल्याण्डले सुपरसिक्समा स्थान पक्का गरिसकेको छ । बाँकी २ स्थानमा जिम्बाब्वे, नेपाल, हङकङ र अफगानिस्तान सबैको सम्भावना जीवित छ । जिम्बाब्वेले २ खेल जितिसकेको अवस्थामा उसको सम्भावना सबैभन्दा बढी छ । हङकङले पनि १ खेल जितेको छ ।
प्रतियोगिताबाट नेपालले आगामी ४ वर्षका लागि एकदिवसीय मान्यता पक्का गर्ने लक्ष्य राखेको छ । त्यसका लागि आजको खेलमा अफगानिस्तान र सोमबार हङकङलाई हराउनुपर्ने हुन्छ ।
अन्यथा एकदिवसीय मान्यता पाउने सम्भावना क्षिण बन्नेछ ।