
धनगढी, २६ फागुन– प्रदेश नं. ७ को संसद बैठकमा बोक्सी आरोपमा निर्घाट कुटिएकी किशोरीको पक्षमा आवाज उठेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी १८ वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा फागुन २४ गते भएको कुटपिट घटनाबारे प्रदेश संसदमा आवाज उठेको हो । आज (शनिबार) बसेको संसद बैठकमा बोल्दै सांसदहरुले दोषिमाथि कडा कारबाही हुनुपर्ने र निर्दोष कशोरीलाई क्षतिपूर्तिसहित न्याय दिनुपर्ने माग गरेका थिए ।
बैठकको विशेष समयमा सांसद मालामति रानाथारु, पूर्णा जोशी र कुन्ती जोशीले दोषिलाई कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने र पीडितलाई न्याय दिनुपर्नेमा सभामुखको ध्यानाकर्षण गराएका थिए ।
नारी दिवसकै दिन विहानै सो गाउँका स्थानीय तान्त्रिक रामबहादुर चौधरीको आदेशमा पीडित किशोरीलाई उनको घरबाट केहि यूवाहरु घिसारेर तान्त्रिक कहाँ पुर्याएका थिए । लगत्तै तान्त्रिक र उनकी श्रीमती पार्वती उर्फ स्मारिका चौधरी र गंगा चौधरीले कुटपिट गरेको पीडित किशोरीले बताइन् । हाल तान्त्रिक रामबहादुर चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

यसैबीच आज विहान ७ नम्बर प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, उद्योग पर्यटन तथा वनमन्त्री माया भट्टसहित सांसदहरुको टोलीले पीडित पक्षसँग भेटघाट गरेको छ । उनीहरुले पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाएरै छोड्ने प्रतिवद्धता जनाए ।
पीडकविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन अनुसार मुद्धा चलाइने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पीडक विरुद्ध उक्त ऐन बमोजिम मुद्धाको तयारी भएको बताउँदै दर्ता आइतवार हुने जनाए । सो ऐनअनुसार कसुरको मात्रा हेरी दुई वर्षदेखि ८ वर्षसम्म जेल सजाय र ५० हजारसम्म जरिवाना भराउने प्रावधान रहेको छ ।