२० असार २०८३, शनिबार

राष्ट्रपति चुनावमा दुई रङका मतपत्र

फागुन २८, २०७४
राष्ट्रपति चुनावमा दुई रङका मतपत्र

काठमाडौं, २८ फागुन– राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङको मतपत्रमा मतदान गर्नुहुने भएको छ । फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयमा आइतबार नै पु¥याइसकिएको छ । 

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीय–संसद्को भवन परिसरमा मङ्गलबार बिहान १० देखि ३ बजेसम्म राष्ट्रपति पदका लागि मतदान हुँदैछ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । 

सङ्घीय संसद्का ३३४ सदस्यमध्ये ३३१ सदस्यलाई मताधिकार प्राप्त छ । उहाँहरूले हरियो मतपत्रमा मतदान गर्नुहुनेछ । सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यलाई मताधिकार प्राप्त छ । 

उहाँहरूले रातो रङको मतपत्रमा मत सङ्केत गर्नुहुने आयोगका उपसचिव देशबन्धु अधिकारीले जानकारी दिनुभयो । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ छ । 

आयोगका अनुसार मतगणना भएको तीनदेखि चार घन्टाभित्रै मतपरिणाम सार्वजनिक हुनेछ । केन्द्र र प्रदेशका सदस्यले अलगअलग मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ, गोरखापत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्