
काठमाडौं, २८ फागुन– यातायात व्यवस्था कार्यालय चाबहिलको चरम लापरबाहीका कारण सेवाग्राही मारमा परेका छन् । कार्यालयको ‘सिस्टम सर्भर’ डाउन भएको भन्दै कर्मचारीले आवश्यक सेवा नदिएपछि कार्यालय समय अगावै पुगेका सेवाग्राही आक्रोसित बनेका छन् ।
सवारी चालक अनुमतिपत्र लिनका लागि ट्रायल दिन विहानै देखि पुगेका सर्वसाधारणका कुनै पनि काम कर्मचारीहरुले सर्भर डाउन भएको भन्दै नगरेपछि समस्या उत्पन्न भएको हो ।
‘बिहान ११ बजे खुल्नुपर्ने ट्रायल सेन्टर दिउँसो साढे १ बजे मात्र खुल्यो, खै अब कत्ति जनाको पालो पर्छ ’ बिहान ९ बजेदेखि लाइमा रहेका कोटेश्वरका सुनिल थापाले भने, ‘बिहानैदेखि नै आएको ट्राफिक आए तर यातायातका कर्मचारी आएनन् ।’
स्याङ्जाबाट ट्रायल दिन हिजो काठमाडौं आएका अमिन श्रेष्ठले आक्रोस पोख्दै भने, ‘बिहानदेखि यहाँ लाइन बसेका छु । सिस्टम डाउन भएको भन्दै कर्मचारीले काम गरेका छैनन् ।’ यातायात व्यवस्था विभागको सिस्टममा धेरै जसो समस्या उत्पन्न हुन गरेका कारण सेवाग्राही मारमा पर्दै आएका छन् । विभागले भने यो प्राविधिक समस्या भन्दै पन्छने गरेको छ ।