
बुटवल, १ चैत-बुटवलमा जारी २०औं तिलोत्तमा गोलकपअन्तर्गत बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा मनाङ मस्याङ्दी क्लबलाई २÷१ गोल अन्तरले पछि पार्दै थ्रीस्टार फाइनलमा पुगेको छ ।
अब उसले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेलमा अग्रता भने मनाङले लिएको थियो । २३औं मिनेटमा विशाल राईको पासमा फ्लोरेनले गोल गरेका थिए । तर त्यो अग्रता धेरै टिकेन ।
एकमिनेट बित्न नपाउँदै थ्रीस्टारका बुद्ध चेम्जोङले एक्लै बल अघि बढाएर बराबरी गोल गरे । पहिलो हाफकै ३८औं मिनेटमा थ्रीस्टारले पाएको फ्री किकमा निराजन खड्का गोल गरे ।
दोस्रो हाफमा थप गोल हुन सकेन र थ्रीस्टार विजयी बन्यो । अब थ्रीस्टारले उपाधिका लागि चैत ३ गते विभागीय टीम नेपाल पुलिसको सामना गर्नेछ ।
विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ र उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।