०३ असार २०८३, बुधबार

मुख्य समाचार : फोरम र राजपाका लागि मन्त्रालय थप्ने तयारी, क्रिकेटमा ऐतिहासिक छलाङ

मुख्य समाचार : फोरम र राजपाका लागि मन्त्रालय थप्ने तयारी, क्रिकेटमा ऐतिहासिक छलाङ

काठमाडौं, २ चैत– मन्त्रिपरषद्को बिहीबार बसेको बैठकमा मन्त्रालयहरुको संख्या थप र पुनः गठनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो विषयमा प्रारम्भिक छलफल गरेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् । 
विगतमा रहेका ३१ मन्त्रालय घटाई वर्तमान सरकारले कार्यसम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय कायम गरेकामा सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता हुने भएकाले केही मन्त्रालय थप्ने गृहकार्य भएको हो । 
फोरम र राजपाले सरकारमा जानका लागि ओली सरकारसँग कम्तिमा पनि ३÷३ मन्त्रालय मागेका छन् । संविधानअनुसार संघीय सरकारका २५ सदस्यसम्म मन्त्री रहन सक्नेछन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिनमा मन्त्रिमण्डल विस्तार गर्दै छन्  ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार, दुवै दलबाट सहभागी हुने मन्त्री, सरकारमा आउन इच्छुक संघीय समाजवादी फोरमलाई समेट्ने विषयमा छलफल भएको थियो ।

पराजुलीद्वारा राजीनामा– न्यायपरिषदबाट अवकाश पाएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका छन् । पराजुलीले बिहीबार बिहान राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएको राष्ट्रपति कार्यलयले जनाएको छ । उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेको जानकारी सहितको पत्र न्यायपरिषदले बुधबार उनलाई बुझाएको थियो । 
यसैबीच, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् । 

उपसभामुखमा २ जनाको उम्मेदवारी– प्रतिनिधिसभाको उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको छ । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसको तर्फबाट पुष्पा भुसालले उम्मेदवारी दिएका हुन् । संघीय संसद सचिवालयले चैत ९ गते शुक्रबार दिउँसो १ बजे उपसभामुखको निर्वाचनको मिती तय गरेको छ । 

राष्ट्रियसभा अध्यक्षद्वारा शपथ ग्रहण– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाएकी छन् । नेकपा एमोलका सांसद तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा निर्वाचित गरेको थियो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा उच्चपदस्थ कर्मचारीलगायत उपस्थित थिए ।

बजेट चैत २० भित्र आउने– प्रदेश नं ३ को चालु आर्थिक वर्षको पहिलो बजेट यही चैत २० गतेभित्र पेश गरिने भएको छ । बिहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्नाका साथै सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई तोकेको छ । 
बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयक, स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक र केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक पारित गरेको छ ।


तातोपानी नाका सञ्चालन गर्ने सम्झौता– तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले सहयोग गर्ने भएको छ । तातोपानी भन्सार नाका पुनःनिर्माणअन्तर्गत भवन मर्मत तथा व्यापार क्षमता अभिवृद्धि गरिनेछ । 
नेपालको भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोगअन्तर्गत बिहीबार तातोपानी भन्सार नाका, सिन्धुपाल्चोक अस्पताल र सिन्धुपाल्चोककै जिरी माध्यमिक विद्यालयको पुनःनिर्माण सम्झौतामा हस्ताक्षर भएको हो । 
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट अर्थसचिव शंकरप्रसाद अधिकारी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यू होङले सम्झौतामा हस्ताक्षर गरे ।

म्याद थप गरी अनुसन्धान– काठमाडौंको गौशालामा बुधबार राति पक्राउ परेका गणेश लामालाई प्रहरीले १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिए । 
हातहतियार तथा खरखजना ऐनअन्तर्गत छ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनलाई गत माघमा अदालतले सफाइ दिएको थियो । लामा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकबाट प्रदेशसभाका उम्मेदवारसमेत थिए । 

सञ्चयकर्तालाई कोषको आकर्षक योजना– कर्मचारी सञ्चय कोषले गम्भीर रोग लागेका सञ्चयकर्तालाई ‘सञ्चयकर्ता स्वास्थ्य सहयोग योजना’ लागू गर्ने भएको छ । कोषबाट खर्च गर्ने गरी मतिष्काघात, अर्बुद रोग, मिर्गाैला डाइलासिस तथा प्रत्यारोपण, मुटुको शल्यक्रिया, हेपाटाइसिस, एचआइभी एड्स आदि रोग लागेका सञ्चयकर्तालाई सुविधा दिन लागिएको हो ।
कोषमा आयोजित पत्रकार सम्मेलनमा कावा प्रमुख प्रशासक दीपक रौनियारले भने, “सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन हामीले नयाँ कार्यक्रम ल्याउन लागेका हौँ ।” त्यस्तो सुविधामा के–कति रकम उपलब्ध गराइने भन्ने विषयमा केही समयभित्रै आवश्यक निर्णय गरिने कोषले जनाएको छ । 

त्रिविका क्याम्पसमा बिदा– त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ । शर्माको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि बुधबारराति ७५ वर्षका उमेरमा निधन भएको हो ।
विसं २०५९ मा उपकुलपति भएका डा शर्माको शव काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । 

नेपाली क्रिकेटलाई एकदिवसीय मान्यता– नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता पाउने पक्का भएको छ । एकदिवसीय मान्यता नेपाली क्रिकेटका लागि अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । 

एकदिवसीय मान्यताका लागि महत्वपूर्ण मानिएको पपुवा न्यूगिनीसँको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । त्यसपछि नेदरल्याण्डले हङकङलाई पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाएको हो । 

नेदरल्याण्डसँग हङकङ विजयी भएको भए नेपालले एकदिवसीय मान्यता पाउन सातौं स्थानका लागि हुने खेलमा हङकङसँग खेल्नु पर्दथ्यो । र हङकङकलाई हराउनै पर्दथ्यो । 

यद्यपि अब पनि नेपालले नेदरल्याण्डसँग अन्तिम खेल खेल्नुपर्ने छ । तर नेदरल्याण्डसँको खेलमा जस्तोसुकै नतिजा आएपनि नेपालले ४ वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (काउन्सिल)ले नेपालले एकदिवसीय मान्यता पाएको भन्दै बधाइ दिएको छ । आईसीसीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत नेपाली क्रिकेट टोली र नेपाली क्रिकेट प्रसंशकलाई ‘वान डे’ मान्यता पाएकोमा बधाइ दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्