
काठमाडौँ, ३ चैत - केपी ओली सरकारमा माओवादीबाट राज्यमन्त्रीसहित ६ मन्त्रीले शपथ लिएका छन् । शक्तिबहादुर बस्नेत वन तथा वातावरण, वर्षमान पुन जलस्रोत तथा ऊर्जा, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, चक्रपाणि खनाल कृषि, भूमि व्यवस्थापन तथा सहकारी र विना मगर खानेपानीमन्त्री बनेका छन् । रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेकी छिन् ।
मन्त्री चक्रपाणि खनाल र विना मगर पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरूको संसद्मा पनि पहिलो उपस्थिति हो । दोस्रो संविधानसभामा दुवैजना पराजित भएका थिए । खनाल माओवादी युद्धमा सैन्य क्षेत्रमा लामो समय काम गरेका, तर शान्तिप्रक्रियामा आएपछि अवसर नपाउने नेतामा पर्छन् । मगर अध्यक्ष प्रचण्डकी बुहारी हुन् ।
शिक्षा, युवा तथा खेलकुदमन्त्री पोखरेललाई पाँचौँ अवसर मिलेको छ । पोखरेल यसअघि चारपटक मन्त्री बनिसकेका नेता हुन् । माओवादीबाट सत्तामा धेरै अवसर पाउने निकै कम नेतामा उनी पर्छन् । उनी ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार, ०६५ मा प्रचण्ड नेतृत्वको सरकार, ०७२ केपी ओली नेतृत्वको सरकार र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका थिए, नयाँ पत्रिकामा खबर छ ।