
महेन्द्रनगर, ३ चैत– कञ्चनपुरकाे भीमदत्त नगरपालिका प्रदेश नम्बर ७ कै उत्कृष्ट नगरपालिका बन्न सफल भएकाे छ । नेपाल नगरपालिका संघले भीमदत्त नगरपालिकालाई ७ नं. प्रदेशकै उत्कृष्ठ नगरपालिकाकाे रूपमा पुरस्कृत गरेकाे हाे ।
संघको २५ औं वार्षिकोत्सव समारोहको अवसर पारी काठमार्डौंमा भीमदत्तका मेयर सुरेन्द्र विष्टलाई पुरस्कार प्रदान गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाले मेयर विष्टलाई पुरस्कार प्रदान गरेका हुन् ।
कञ्चनपुरको सबैभन्दा पूरानो नगरपालिकालाई भीमदत्तलाई सेवा प्रवाह, प्रशासनिक चुस्तता, स्रोत परिचालन, सहरी विकास तथा व्यवस्थापन लगायतका सूचकका आधारमा ७ नं. प्रदेशमा उत्कृष्ठ नगरपालिका छनौट गरी पुरस्कृत गरिएको हो । भीमदत्तसंगै देशभरका अन्य ६ प्रदेशका उत्कृष्ठ नगरपालिकालाई पनि पुरस्कार प्रदान गरिएको छ ।
चार दशक अघि २०३४ सालमा महेन्द्रनगर नगरपालिकाको नाममा भीमदत्त नगरपालिका स्थापना गरिएको थियो । २०६२/०६३ को जनआन्दोलनपछि नगरपालिकाको नाम परिवर्तन गरी भीमदत्त बनाइएको थियो ।
भीमदत्त नगरपालिकाका मेयर विष्टले भीमदत्त नगरपालिकाका वासिन्दा, राजनीतिक दल, सरकारी तथा गैर सरकारी निकाय सबैको सहयोगले नगरपालिका उत्कृष्ठ भएको बताए ।
‘नगर वासिन्दा, दल, सरोकारवाला निकाय सबैको सहयोगले उत्कृष्ठ पुरस्कार पाएका छौ, यसले सिंगो भीमदत्त नगरपालिका गौरवान्तित भएको छ’ मेयर विष्टले भने,‘ यो पुरस्कारले विकास र समृद्धिमा अभियानलाई हौसला मिलेको छ ।’
मेयर विष्टले भीमदत्त नगरपालिकाको समृद्धि र विकासका लागि अल्पकालीन र दिर्घकालीन योजना बनाउन शुरु गरेका छन् ।