३१ असार २०८३, बुधबार

नौं वर्षदेखि कष्टकर रुपमा पुलमुनी बस्दै आएका कुस्मी र दयावतीले पाए घर

चैत ८, २०७४
नौं वर्षदेखि कष्टकर रुपमा पुलमुनी बस्दै आएका कुस्मी र दयावतीले पाए घर

विराटनगर, ८ चैत– करिव नौ बर्ष यता मोरङको कानेपोखर गाउँपाकिाल  ५ चिसाङ खोलाको  पुलमुनी बसोवास गर्दै आएका आमाछोरीले नौ बर्षपछि  आफ्नै घर पाएका छन् । कष्टकर जीवन गुजारा गर्दै आएका यी आमाछोरी बारे केही समय अघि समाचारहरु प्रकाशित भएपछि उनीहरुको उद्धार गरिएको हो । 

वसोबासको व्यवस्था नभएका कारण कष्टकर जीवन विताइरहेका ६० वर्षीया कुस्मी उराव र ३० वर्षीया छोरी दयावतीलाई विराटनगरस्थित ओरेकको सेफ हाउसमा राखिएको थियो । 

घर निर्माणपछि खाट ओछ्यान,लत्ताकपडा,भाडाकुडासहित खाद्य सामाग्री प्रदान गरिएको छ । बर्षौपछि उनीहरु घरमा बस्न पाएका छन् । सहयोगी संघसस्थाका प्रतिनिधीसहित कानेपोखरी गाउपालिकाकी उपप्रमुख राजकुमारी इङनाम, ५ नम्बर बडाका बडाअध्यक्ष चरण गुरुङले आमाछोरीलाई घरको चावी दिएर उनीहरुलाई घर हस्तान्तरण गरेका थिए । 

यसरी गरियो उद्दार

करिब ४ महिना अघि सञ्चार माध्याम रेडियो पत्रपत्रिका र अनलाइनहरुमा समाचार प्रकाशित भएपछि महिला तथा बालबालिका कार्यालय मोरङका प्रमुख दुर्गा भण्डारी वरालसहितको टोली पुलमुनि आमाछोरीको अबस्था बुझ्नको लागि केही संघ संस्थाका प्रतिनिधि लिएर कानेपोखरीको चिसाङ खोलाको पुलमुनी पुगेको थियो । यसरी त्यहाँ पुगेको टोलीले आमाछोरीलाई तत्कालै उद्दार गर्नुपर्ने निश्कर्ष निकाल्यो । 

 त्यसको केही दिनमै उनीहरुको उद्दार भयो र विराटनगरमा रहेको ओरेक नेपालको सेफ हाउसमा ल्याएर राखिएको थियो । उनीहरुको उद्दार भएको थाहा पाएका केही संघ संस्थाले कसैले घर बनाईदिने कसैले जग्गा दिने समेत बचन बद्धता जनाए । त्यसैको आधारमा कामपनि भयो ।

विभिन्न संघसस्था, जनप्रतिनिधी र गाउँलेहरुको सहयोगमा सोही गाउँमा घर निर्माण पनि भयो । माइती नेपाल विराटनगरको सञ्योजनमा विभिन्न सस्थाको तीन लाख रुपैयाँसहयोगमा, टिनको छाना लगाएर इटाको घर र शौचालय निर्माण गरिएको माइतीनेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले बताए । 

यस्तो थियो दैनिकी

करिब चार महिना अघि कुस्मी र अपाङगता भएकी(बोल्न नसक्ने) दयावतीको घर पुलमुनी थियो । पूर्व पश्चिम राजमार्गको मुख्य सडकको चिसाङ खोला कहिले पानी विहीन हुन्छ भने कहिलेकाँही उर्लेर सबै बगाउला झै गरेर आउथ्यो । त्यही खोलाको पुलमुनी सानो ओढार बसेर आमा छोरीको दैनिकी चल्दै थियो । ओढारको बसाइका क्रममा सालको पात र निगुरो बेचेर उनीहरुले आफ्नो गुजारा चलाउँदै थिए ।

गुजारा चलाउनको लागि उनीहरुलाई त्यो रकमले पुग्दैन थियो । दैनिक साथिहरुसंग जंगल जाने, पात र निगुरो टिपेर ल्याएर बेच्यो त्यसले खानै नपुगने भएपनि के गर्नु जीवन त चलाउनै थियो । अपाङगता भएकी छोरी संगै कष्टकर जिवन विताउदै आएकी कुस्मीको घर(ओढार)मा नत घेरावार , नत  पानी विजुलीको व्यवस्था थियो । 

त्यसैमा नौ बर्षसम्म आफ्नो मनको पिडा र कुण्ठा आफैसँग साँचेर जिवन बिताएका थिए । पुल छानो, पुलमुनीका छेउका पुल अड्याउन लगाईएका ढुङ्गा उनीहरुको सुरक्षा कवचको रुपमा थियो ।  भए खायो नभए भाकै पेट मिचिमिचि सुत्नु पर्ने उनीहरुको दैनिकी बाध्यता थियो । 

तर अहिले समय फेरिएको छ । उनीहरुलाई चार महिना विराटनगरको बसाइपछि फेरी त्यही गाउँमा फर्काईएको छ । कानेपोखरी गाउँपालिकाकाले सुविधाको ब्यवस्था गरिदिने बचन बद्धतासहित सयोग पनि गरेको छ । पुलको छानोबाट टिनको छानो  र घेरावारा विहीन ओढारबाट आफ्नो घर पाउदा धेरै खुसी लागेको कुस्मीले सुनाइन् । 

आफ्नो नागरिकता भएपनि कुस्मीले छोरीको नागरिकता बनाउन सकेकि छैनन् । 

महिला तथा वालवालिका कार्यालय मोरङकी प्रमुख दुर्गा बरालले  गाउँपालिकाको सहयोगमा नागरिकता बनाउनन सहयोग गरेपछि अपाङगता परिचय पत्र बनाउने र सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गरिदिने  प्रतिबद्धता जनाइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्