
विराटनगर, ८ चैत– करिव नौ बर्ष यता मोरङको कानेपोखर गाउँपाकिाल ५ चिसाङ खोलाको पुलमुनी बसोवास गर्दै आएका आमाछोरीले नौ बर्षपछि आफ्नै घर पाएका छन् । कष्टकर जीवन गुजारा गर्दै आएका यी आमाछोरी बारे केही समय अघि समाचारहरु प्रकाशित भएपछि उनीहरुको उद्धार गरिएको हो ।
वसोबासको व्यवस्था नभएका कारण कष्टकर जीवन विताइरहेका ६० वर्षीया कुस्मी उराव र ३० वर्षीया छोरी दयावतीलाई विराटनगरस्थित ओरेकको सेफ हाउसमा राखिएको थियो ।
घर निर्माणपछि खाट ओछ्यान,लत्ताकपडा,भाडाकुडासहित खाद्य सामाग्री प्रदान गरिएको छ । बर्षौपछि उनीहरु घरमा बस्न पाएका छन् । सहयोगी संघसस्थाका प्रतिनिधीसहित कानेपोखरी गाउपालिकाकी उपप्रमुख राजकुमारी इङनाम, ५ नम्बर बडाका बडाअध्यक्ष चरण गुरुङले आमाछोरीलाई घरको चावी दिएर उनीहरुलाई घर हस्तान्तरण गरेका थिए ।
यसरी गरियो उद्दार
करिब ४ महिना अघि सञ्चार माध्याम रेडियो पत्रपत्रिका र अनलाइनहरुमा समाचार प्रकाशित भएपछि महिला तथा बालबालिका कार्यालय मोरङका प्रमुख दुर्गा भण्डारी वरालसहितको टोली पुलमुनि आमाछोरीको अबस्था बुझ्नको लागि केही संघ संस्थाका प्रतिनिधि लिएर कानेपोखरीको चिसाङ खोलाको पुलमुनी पुगेको थियो । यसरी त्यहाँ पुगेको टोलीले आमाछोरीलाई तत्कालै उद्दार गर्नुपर्ने निश्कर्ष निकाल्यो ।
त्यसको केही दिनमै उनीहरुको उद्दार भयो र विराटनगरमा रहेको ओरेक नेपालको सेफ हाउसमा ल्याएर राखिएको थियो । उनीहरुको उद्दार भएको थाहा पाएका केही संघ संस्थाले कसैले घर बनाईदिने कसैले जग्गा दिने समेत बचन बद्धता जनाए । त्यसैको आधारमा कामपनि भयो ।
विभिन्न संघसस्था, जनप्रतिनिधी र गाउँलेहरुको सहयोगमा सोही गाउँमा घर निर्माण पनि भयो । माइती नेपाल विराटनगरको सञ्योजनमा विभिन्न सस्थाको तीन लाख रुपैयाँसहयोगमा, टिनको छाना लगाएर इटाको घर र शौचालय निर्माण गरिएको माइतीनेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले बताए ।
यस्तो थियो दैनिकी
करिब चार महिना अघि कुस्मी र अपाङगता भएकी(बोल्न नसक्ने) दयावतीको घर पुलमुनी थियो । पूर्व पश्चिम राजमार्गको मुख्य सडकको चिसाङ खोला कहिले पानी विहीन हुन्छ भने कहिलेकाँही उर्लेर सबै बगाउला झै गरेर आउथ्यो । त्यही खोलाको पुलमुनी सानो ओढार बसेर आमा छोरीको दैनिकी चल्दै थियो । ओढारको बसाइका क्रममा सालको पात र निगुरो बेचेर उनीहरुले आफ्नो गुजारा चलाउँदै थिए ।
गुजारा चलाउनको लागि उनीहरुलाई त्यो रकमले पुग्दैन थियो । दैनिक साथिहरुसंग जंगल जाने, पात र निगुरो टिपेर ल्याएर बेच्यो त्यसले खानै नपुगने भएपनि के गर्नु जीवन त चलाउनै थियो । अपाङगता भएकी छोरी संगै कष्टकर जिवन विताउदै आएकी कुस्मीको घर(ओढार)मा नत घेरावार , नत पानी विजुलीको व्यवस्था थियो ।
त्यसैमा नौ बर्षसम्म आफ्नो मनको पिडा र कुण्ठा आफैसँग साँचेर जिवन बिताएका थिए । पुल छानो, पुलमुनीका छेउका पुल अड्याउन लगाईएका ढुङ्गा उनीहरुको सुरक्षा कवचको रुपमा थियो । भए खायो नभए भाकै पेट मिचिमिचि सुत्नु पर्ने उनीहरुको दैनिकी बाध्यता थियो ।
तर अहिले समय फेरिएको छ । उनीहरुलाई चार महिना विराटनगरको बसाइपछि फेरी त्यही गाउँमा फर्काईएको छ । कानेपोखरी गाउँपालिकाकाले सुविधाको ब्यवस्था गरिदिने बचन बद्धतासहित सयोग पनि गरेको छ । पुलको छानोबाट टिनको छानो र घेरावारा विहीन ओढारबाट आफ्नो घर पाउदा धेरै खुसी लागेको कुस्मीले सुनाइन् ।
आफ्नो नागरिकता भएपनि कुस्मीले छोरीको नागरिकता बनाउन सकेकि छैनन् ।
महिला तथा वालवालिका कार्यालय मोरङकी प्रमुख दुर्गा बरालले गाउँपालिकाको सहयोगमा नागरिकता बनाउनन सहयोग गरेपछि अपाङगता परिचय पत्र बनाउने र सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गरिदिने प्रतिबद्धता जनाइन् ।