
काठमाडौं, ९ चैत– इन्डियन प्रिमियर लिग (आइपिएल)मा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्समा १ नम्बरको जर्सी लगाउने भएका छन् ।
एक कार्यक्रमबीच दिल्लीका सिइओ हेमन्त दुवाले बिहीबार सन्दीपलाई एक नम्बरको जर्सी प्रदान गरेका छन् । ११औँ आइपिएलको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
राम्रो गरे स्थान
पहिलो नेपाली खेलाडीका रूपमा सन्दीप आइपिएलमा अनुबन्ध भएका छन् । तर, सन्दीपले दिल्लीबाट आइपिएलमा डेब्यु गर्छन् कि गर्दैनन् भन्ने प्रश्न पनि छ । दिल्लीका सिइओ दुवाले सन्दीपले प्रशिक्षणमा राम्रो गरे स्थान पाउन सक्ने विश्वास दिलाए । तर, यसका लागि क्लबको मात्र निर्णय नभएर प्रशिक्षक तथा कप्तानको पनि निर्णय चाहिने उनले स्पष्ट पारेका छन् ।
सन्दीपको चाहना २५ नम्बर
सन्दीपको भित्री चाहना २५ नम्बर जर्सी लगाउनु नै थियो । तर, सन्दीपले दिल्लीबाट १ नम्बरको जर्सी पाएका छन् । दिल्लीले २५ नम्बरको जर्सी कागिसो राडवालाई दिइसकेको छ ।
यस कारण सन्दीपले आफ्नो मनपर्ने जर्सी २५ नम्बर लगाउन वञ्चित भएका हुन् । घरेलु तथा राष्ट्रिय टोलीबाट सन्दीपले २५ नम्बरकै जर्सी लगाउने गर्छन् ।
सन्दीपले आफूलाई २५ नम्बर जर्सी किन प्यारो लाग्छ भन्ने खुलासा गरेका छन् । उनी भन्छन्, ‘मेरो भान्जीको जन्मदिन २५ गते नै पर्छ, तर उनी यस संसारमा अहिले छैनन्, भान्जीलाई सम्झँदै मैले २५ नम्बरको जर्सी लगाउने गरेको हुँ ।’ सन्दीपले १ नम्बरको जर्सी पाउँदा पनि खुसी नै भएको बताए ।
‘भान्जी जन्मेको पहिलो महिना नै हो, यसकारण पनि म १ नम्बर जर्सीमै खुसी छु,’ भावुक हुँदै उनले भने ।, नयाँ पत्रिकामा खबर छ।