
काठमाडौं, ११ चैत– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगावै एमालेसँगको पार्टी एकता प्रक्रियालाई टुंग्याउनु पर्नेमा जोड दिएको छ । माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण आगडि नै पार्टी एकतालाई टुंग्याउने गरी तयारी गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् ।
माओवादी नेता एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पनि प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने गरी तयारी भइरहेको बताएका छन् । राजधानीमा भएको प्रशिक्षण कार्यक्रममा उनले आगामी १० दिनभित्रमा पार्टी एकता हुने गरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिए ।
यसैबीच, पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको रिर्पोटबारे छलफल गर्न आइतबार कार्यदलको बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले बताए । कार्यदलमा रहेका केही नेताहरु सरकार विस्तारसँगै दाहोरो जिम्मवारीमा भएकै कारण सुस्ताएको एकता प्रक्रियालाई छिटो निश्कर्षमा पुर्याउने गरी तयारी थालिएको दुवै दलका नेताहरुले बताएका छन् ।
भ्रातृ संगठनको भूमिकाहीनता नै हारको मुख्य कारण– नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेतृत्वको भूमिकाबारे तीव्र आलोचना भएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको आलोचना गर्दै नयाँ योजना निर्माणका लागि महासमिति बैठकको मागसमेत गरेका छन् ।
शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा शनिबार बोल्दै केन्द्रीय सदस्यहरुले चुनावी हारको कारण विधि विधान विपरीत चल्ने नेतृत्व भएको भन्दै महासमिति बैठक डाक्न माग गरेका हुन । बैठकमा केन्द्रीय सदस्यहरूले निर्वाचनमा पार्टीको पराजय नेतृत्वको कमजोरी, संगठनको निष्क्रियता र भ्रातृ संगठनको भूमिकाहीनता नै मुख्य जिम्मेवार रहेको आरोप लगाए ।
पार्टी नेतृत्वबाट प्रभावकारी भूमिका खेल्न नसकेकै कारण काँग्रेसले निर्वाचनको परिणाम सोचेअनुरूप हात पार्न नसकेको टिप्पणी उनीहरुको छ । बैठकमा सभापति देउवा पक्षधर नेताहरूले पार्टीभित्रका गुटउपगुट, असहयोगको प्रभाव र वाम गठबन्धनको असरले पार्टीलाई निर्वाचनको गणितीय परिणाममा धक्का लागे पनि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै समानुपातिक निर्वाचनको परिणामलाई विश्लेषण गर्दा अहिले नै आत्तिइहाल्नुपर्ने र नेतृत्वबारे नकारात्मक टिप्पणी गर्नुपर्ने स्थिति नरहेको धारणा व्यक्त गरे ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबारको बैठकमा केन्द्रीय सदस्यहरू हरिप्रसाद नेपाल, नरहरि आचार्य, नवीन्द्रराज जोशी, कल्याण गुरुङ, दिलेन्द्रप्रसाद बडूले आ–आफ्ना धारणा राखेका छन् । अर्को बैठक सोमबार बिहान ९ बजे बस्नेछ ।
प्रदेश इन्चार्ज हेरफेर– माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । नयाँ जिम्मेवारीअनुसार प्रदेश १ मा राम कार्की, प्रदेश २ मा विश्वनाथ साह, प्रदेश ३ मा हितमान शाक्य, प्रदेश ४ मा हितराज पाण्डे, प्रदेश नं ५ मा मणि थापा, प्रदेश नं ६ मा जनार्दन शर्मा र प्रदेश नं ७ मा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ ।
प्रदेश नं १ का इन्चार्ज गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश नं २ का मातृकाप्रसाद यादव, प्रदेश नं ५ का वर्षमान पुन र प्रदेश नं ६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश नं ४ का देवप्रसाद गुरुङ संसदीय दलको प्रमुख सचेतक बनेका कारण जिम्मेवारीमा हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।
सैन्य परीक्षामा १२ जना नक्कली परीक्षार्थी पक्राउ– नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सिआइटिई कलेज तीनकुनेबाट ११ गरी कुल १२ जना नक्कली परीक्षार्थीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएकोे छ ।
पक्राउ पर्ने महिला नक्कली परीक्षार्थीमा काठमाडौँ मनमैजुकी कविता श्रेष्ठ, कैलालीकी जानकी माझी, मनिषा विष्ट र दोलखाकी सम्झना मगर रहेकी छिन् । यसैगरी भोजपुरका गोपाल ढकाल, बर्दियाका प्रकाश भण्डारी र गौतम राना, कैैलालीका समिप रोकाय, कास्कीका लोचन वाग्ले, गुल्मीका मोहित भण्डारी, दोलखाका सुदीप कार्की र दिवस कार्कीलाई नक्कली परीक्षार्थीका रूपमा परीक्षामा सामेल रहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
पक्राउ पर्नेमा अधिकांश आफन्तको परीक्षा दिन गएका भेटिएको छ भने केहीले भने पैसा लिएर जाँच दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
राप्रपाको निष्कर्ष– राष्ट्रिय प्रजातन्त्र पार्टीले वैचारिक कारणले पार्टीले हार नव्यहोरेकोे निष्कर्ष निकालेको छ । शनिबार सम्पन्न राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, शीर्ष तहका नेताको सहभागितामा भएको बैठकले वैचारिक कारणले पार्टी पराजय नभएको निष्कर्ष निकालेको हो । बैठकले दलभित्रको आन्तरिक विवाद, संगठन निर्माणमा देखिएको सुस्तताका कारण चुनावमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकिएको ठहर गरेको छ ।
इयूप्रति जनमोर्चाको आक्रोश– राष्ट्रिय जनमोर्चाले कुटनीतिक आचारसंहिता विपरित गतिविधि गर्नेलाई आवश्यक परे देश निकाला गर्नुपर्ने बताएको छ । युरोपियन यूनियन (ईयु) को प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदन र राजदूतहरुको भेटघाटवारे असन्तुष्टी जनाउँदै अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तीमा यस्तो उल्लेख छ ।
इयूले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदनमा ‘खस आर्यलाई आरक्षण सूचीबाट हटाउन’ सुझाव दिएको थियो ।
छानबिनका लागि समिति– नेपाल विद्यार्थी संघले संगठनको बदनाम हुने गरी सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका भ्रामक समाचारको बिषयमा छानबिन गर्न समिति गठन गरेको छ । संगठन भित्रकै केही व्यक्तिले पदाधिकारी र सदस्यहरुको बदनाम हुने गरी दुष्प्रचार गरेको भन्दै उपाध्यक्ष पवन यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिले ५ दिनभित्र प्रतिवेदन बुझाउने छ । नेविसंघका पदाधिकारीको नाम जोडेर नक्कली सर्टिफिकेट बनाउन संलग्न रहेको भन्दै सामाजिक सञ्जालमा समाचार सम्प्रेषण भएका थिए ।
अमेरिकाले दियो धम्की– संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदले इजरायल विरुद्ध पाँचवटा खेद प्रस्ताव पारित गरेपछि अमेरिकी प्रतिनिधि आक्रोशित भएका छन् । यो प्रस्ताव पारित भएसँगै अमेरिकाले आफ्नो धैर्यको बाँध भत्किएको भन्दै परिषदबाट हट्न सक्ने धम्की दिएको छ ।
राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले इजरायल विरुद्ध परिषदको रवैया पक्षपातपूर्ण रहेको बताएकी छिन् । परिषद्ले उत्तर कोरिया, इरान र सिरिया विरुद्ध मात्र तीन प्रस्ताव पारित गरेको उनको आरोप छ ।